
काठमाडौं, २१ वैशाख । बर्तमान सरकारले व्यवसायीलाई भने कुनैपनि दुख नदिने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई नडराउन र नआत्तिन आग्रह पनि गरिसक्नु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शलगायत निजी क्षेत्रका संस्थाका प्रतिनिधिहरुसँग हिजो छलफलगर्दै उहाँले रास्वपा र वर्तमान सरकारप्रति सशंकित नहुन आग्रह गर्नुभएको थियो । सभापति लामिछानेले निजीक्षेत्र सशंकित भएको, अलि डराएकोजस्तो देखेर नै मैले तपाईंहरुसँग छलफलगर्न चाहेको हुँ । तपाईंहरु डराउनुपर्ने वा आत्तिनुपर्ने कुनै कारण छैन । हामी व्यवसायीहरुलाई कुनै खालको दुःख दिन चाहँदैनौँ भन्नुभएको थियो । उहाँले केही व्यवसायी तथा पात्रहरुले देशको अर्थतन्त्रनै आफ्नो मुठ्ठीमा नियन्त्रण गर्नेगरी अघि बढेका कारणले सरकार निर्मम भएर लाग्नुपरेको बताउनु भएको थियो ।
सभापति लामिछानेले वास्तविक अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको समस्या सम्बोधन गर्नुपर्ने र त्यसको ‘रोडम्याप’ रास्वपाले बनाइसकेको पनि जानकारी दिनुभउको थियो । उहाँले समस्या सम्बोधनका लागि उद्योगी–व्यवसायीहरुले आफ्नो घर र पार्टी कार्यालय धाउनै नपर्ने पनि बताउनु भयो । उहाँले तपाईंले मलाई र पार्टी कार्यालयलाई देख्नुपर्दैन, टेक्नुपर्दैन । हामी तपाईंहरुको समस्या सहजै सम्बोधनगर्न चाहन्छौँ । पहिला तपाईंहरुले फरक खालको प्रयोग र अनुभव लिनुभयो होला, सहभागी हुनु पनि भयो होला, तर हामी फरक ढंगबाट देखिने गरी परिवर्तन महसुस गराउन चाहन्छौँ भन्नुभएको थियो । छलफलमा महासंघका अध्यक्ष चन्द्र ढकालले निजीक्षेत्र शान्तिको क्षेत्र भएकाले सहजरुपमा कामगर्न दिन आग्रह गर्नुभएको थियो । उहाँले हरेक आन्दोलनमा यस क्षेत्रमाथि प्रहार भइरहेको छ । हामी हरेक आन्दोलनको मुख्य निशानामा परिरहेका छौँ ।
यसो हुनुहुँदैनभन्ने हाम्रो माग हो भन्नुभएको थियो । परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले पूँजी निर्माण घटिरहेको अवस्थामा निजी क्षेत्रलाई प्रोत्साहन र हौसला बढाउन आवश्यक रहेको उल्लेख गर्नुभएको थियो । चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपक मलहोत्राले स्पष्ट बहुमतसहितको रास्वपा सरकारसँग ठूलो अपेक्षा रहेकोभन्दै विकास निर्माण र आर्थिक सुधारमा सरकारले आवश्यक भूमिका खेल्नुपर्ने बताउनुभएको थियो । रासस