काठमाडौं, २१ वैशाख । बिभिन्न सरकारी पदाधिकारीहरु स्वतः पदमुक्त भएको घोषणा गरिएको छ । जसको संख्या १५९४ रहेको छ । ०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु स्वतः पदमुक्त भएका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत शनिबार जारीगर्नुभएको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था अध्यादेश–०८३ को दफा २ को (१) मा उक्त व्यवस्था गरिएको छ । उक्त दफामा सार्वजनिक पदाधिकारीहरुको नियुक्तिमा जुनसुकै शर्त, सुविधा र पदावधि तोकिएको भएपनि यो अध्यादेश प्रारम्भ भएपछि त्यस्ता पदाधिकारीहरु कार्यरत रहेको पदबाट स्वतः पदमुक्त हुने उल्लेख छ ।
उक्त अध्यादेश कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले हिजो आइतबार सार्वजनिक गरेको हो । सो अध्यादेशको दफा २ को उपदफा (२) मा पदमुक्त भएको पदाधिकारीलाई सम्बन्धित मन्त्रालयको सचिव वा निजले अख्तियारी दिएको अधिकारीले पदमुक्त भएको सूचना दिने उल्लेख छ । दफा १ को (२) बमोजिम यो अध्यादेश कार्यान्वयनमा आइसकेको छ । प्रचलित कानुनबमोजिम नियुक्त तथा मनोनयन भएका वा तोकिएको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा तत्काल कानूनी व्यवस्थागर्न वाञ्छनीय भएको र हाल संघीय संसद्को अधिवेशन नभएकाले यो अध्यादेश जारीभएको प्रस्तावनामा भनिएको छ ।