काठमाडौं, २१ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्णरुपमा डिजिटल प्रणालीमा रुपान्तरणगर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालयमा हिजो आयोजित सदस्यतासम्बन्धी बैठकमा यसबारे विस्तृत छलफल गरिएको सङ्गठन विभाग संयोजक तथा पार्टी केन्द्रीय सचिव भानुभक्त ढकालले जानकारी दिनुभयो । पार्टीका उपाध्यक्ष, महासचिव, प्रदेशका नेताहरु तथा जनसंगठनका प्रतिनिधिहरुको उपस्थितिमा सदस्यता व्यवस्थापनसम्बन्धी डेमो (प्रदर्शनात्मक) बैठकमा प्रस्तावित प्रणाली र कार्यान्वयनबारे छलफल गरिएको उहाँले बताउनुभयो । बैठकमा पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अनलाइन सदस्यता नवीकरण अभियान पार्टी जीवनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने महत्वपूर्ण कदम भएको बताउनुभएको थियो ।