काठमाडौं,२२ वैशाख । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले भोली बुधबार दिउँसो १ बजे बस्नेगरी संसदीय दलको बैठक बोलाउनुभएको छ । बैठकमा समसामयिक राजनीति तथा अन्य विषयमा छलफल हुने बताइएको छ । नेपाली काँग्रेसले सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएकोप्रति आफ्नो गम्भीर असहमति र आपत्ति प्रकट गरेको छ । आज संसद समन्वय बोर्डको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरागर्दै नेपाली कांग्रेसका संसदीय दलका नेता आङदाम्बेले सरकारले अध्यादेशमार्फत संवैधानिक निकायहरुमाथि हस्तक्षेपगर्न खोजेको आरोप लगाउनुभएको थियो । उहाँले सरकारले आफ्नो अनुकूलका व्यक्तिहरुलाई महत्वपूर्ण संवैधानिक आयोगहरुमा नियुक्तगरी ती निकायहरुलाई आफ्नो नियन्त्रणमा राख्ने बदनियतपूर्ण उद्देश्यले यो अध्यादेश ल्याएको बताउनु भएको थियो । उहाँले प्रतिपक्ष र संसदमार्फत व्यक्तहुने नागरिक भावनालाई कुल्चिएर सरकारले स्वेच्छाचारी प्रवृत्ति प्रस्तुत गरेको दाबि पनि गर्नुभएको छ ।
अध्यादेश जारी भइसकेपछिमात्र संसदको अधिवेशन आह्वानगर्ने सरकारको निर्णयलेसमेत उसको नियतमा खोट देखिएको र यसका विरुद्ध संसदमा सशक्त रुपमा आवाज उठाउने उहाँले चेतावनी पनि दिनुभएको छ । त्यसैगरी काँग्रेसले सुकुम्बासी बस्ती व्यवस्थापनको विषयमा पनि सरकारको आलोचना गरेको छ । सुकुम्बासी परिवारहरुको उचित व्यवस्थापन र विकल्प बिना नै डोजर चलाएर बस्ती हटाउँदा मानवीय संवेदनाको ख्याल नगरिएको र मानव अधिकारको उल्लंघन भएको नेता आङदाम्बेको भनाई छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि संसद्को दुवै सदनका अधिवेशन आह्वान गर्नुभएको छ ।