मैदुगुरी, २७ वैशाख । नाइजेरियाको सेनाले लामो समयदेखि इस्लामिक विद्रोह चलिरहेको नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा यसै हप्ता भएको झडपमा कम्तीमा ५० जिहादी विद्रोहीको मृत्युभएको जनाएको छ । सन् २००९ देखि देशले बोकोहराम र यसको विभाजित गुट इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्त (आइएसडब्ल्युएपी) सँग लडिरहेको छ । उनीहरुले यस क्षेत्रमा इस्लामिक खलिफा स्थापनागर्ने बताउँदै आएका छन् । सेनाले बिहीबार बुनी गारी शहरमा रहेको आफ्नो २७ औँ ब्रिगेडको मुख्यालय र योबे राज्यको नजिकैको सुरक्षा जाँचस्थलमा आइएसडब्ल्युएपीसँगको झडपका क्रममा जिहादी लडाकूहरु मारिएका बताएको छ । आर्मले धेरै दिशाबाट ठूलो संख्यामा आतङ्ककारीहरुले अँध्यारोको फाइदा उठाउँदै स्थानीय समयअनुसार राति करिब २ः०० बजे शुरुगरेको आक्रमणलाई विनाशकारी सशस्त्र आक्रमणलाई रणनीतिक प्रतिभा र सैनिकहरुको दृढ विश्वासले विफल पारिदिएको छ भन्नुभयो ।

झडपमा कम्तीमा ५० जना आतंककारीको मृत्यु भएको र ठूलो परिमाणमा हातहतियार र गोलाबारुद बरामद गरिएको छभने दुई सैनिकको मृत्युभएको सेनाले जनाएको छ । सेनाले सार्वजनिक गरेको एएफपीलाई प्राप्त तस्बिरहरुमा बरामद हातहतियार र गोलीगठ्ठासहित मृत शरीरहरु देखाइएको छ । नाम नबताउने शर्तमा एक खुफिया स्रोतले आक्रमण र सेनाको प्रत्याक्रमणको पुष्टिगरेको छ । यद्यपि उक्त स्रोतले सेनातर्फ पनि क्षति भएको जनाएको छ । अर्को गुप्तचर स्रोतका अनुसार मारिएका र घाइते भएका सैनिकलाई छ वटा एम्बुलेन्समा छिमेकी बोर्नो राज्यको राजधानी मैदुगुरी लगिएको छ । बोको हराम र आइएसडब्ल्यएपीले हालैका महिनाहरुमा तुलनात्मकरुपमा शान्तिको अवधिपछि आक्रमणहरु बढाएका छन् ।

सन् २०१९ देखि सेनाले साना चौकीहरु बन्द गरेको छ र आक्रमणलाई राम्रोसँग सामना गर्न डिजाइन गरिएको ‘सुपर क्याम्प’ भनेर चिनिने ठूला, भारी सुदृढ शिविरहरुमा आफ्नो सेनालाई पुनः संगठित गरेको छ । केही विश्लेषकहरु भन्छन्–यो रणनीतिले सशस्त्र समूहहरुलाई कम सैन्य उपस्थिति भएका ग्रामीण क्षेत्रहरुमा बढी स्वतन्त्र रुपमा आवतजावत गर्न अनुमति दिएको छ । संयुक्त राष्ट्रसंघका अनुसार उत्तरपूर्वी नाइजेरियामा जिहादी विद्रोहले ४० हजारभन्दा बढीको ज्यान लिएको छ र करिब २० लाख विस्थापित भएको छ र हालैका वर्षहरुमा छिमेकी नाइजर, क्यामरुन र चाडका केही भागहरुमा फैलिएको छ । रासस, एएफपी