काठमाडौं,२७ वैशाख । नेपाल प्रवेशगर्ने भारतीय सवारीसाधन माथिको निगरानी थप प्रभावकारी बन्नेभएको छ । अभिलेख व्यवस्थापन र अनलाइन प्रणालीको अभावका कारण प्रभावकारी रुपमा कार्यान्वयन हुननसकेको भारतीय सवारी व्यवस्थापन प्रणाली अहिले डिजिटल माध्यमबाट कड्याइकासाथ लागूगर्न थालिएको हो । भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार नेपाल सरकारले भारतीय नम्बर प्लेटका सवारीसाधनका लागि तोकेको समयसीमा र शुल्कसम्बन्धी व्यवस्था नयाँ नभई विगतदेखि नै लागूरहेको कानूनी प्रावधान हो । तर, अनलाइन प्रणाली नहुँदा कुन सवारी कतिपटक नेपाल प्रवेश ग¥यो, कति दिन बस्यो र समयसीमा नाघ्यो वा नाघेनभन्ने तथ्यांक व्यवस्थित रुपमा राख्न कठीनहुँदा नियम पूर्णरुपमा कार्यान्वयन हुन सकेको थिएन । भारतीय नागरिक नेपालभर भ्रमणगर्न पाउने भए पनि पर्यटकीय प्रयोजनका लागि नेपाल भित्रिने भारतीय सवारीसाधनलाई भने निश्चित समयसीमा तोकिएको उहाँको भनाइ छ ।
उहाँका अनुसार कार, जिप, मोटरसाइकललगायत पर्यटकीय सवारीसाधनले एक वर्षभित्र एकैपटक वा पटक,पटकगरी जम्मा ३० दिनसम्म मात्रै नेपालमा बस्न पाउने कानूनी व्यवस्था छ । प्रमुख भन्सार अधिकृत पौडेलले ३० दिनभन्दा बढी बस्न हालतमा पाइँदैन । अतिरिक्त महसुल तिरेर पनि बस्न अनुमति छैन । तोकिएको समयसीमा नाघेर सवारी नेपालमै राखेमा कानूनअनुसार कारबाही हुन्छ र सवारीसाधनसमेत जफत हुनसक्छ भन्नुभएको छ ।
भन्सार अधिकृत पौडेलका अनुसार सीमानाकामा यो व्यवस्था विगतदेखिनै लागू गरिँदै आएपनि अभिलेखीकरण म्यानुअल प्रणालीमा आधारित हुँदा निगरानी प्रभावकारी हुनसकेको थिएन । अहिले अनलाइन प्रणालीमार्फत सवारीको प्रवेश, बसाइ अवधि र आवतजावतको विवरण डिजिटलरुपमा राख्न थालिएपछि कार्यान्वयनमा सहजता आएको उहाँले बताउनुभएको छ । रासस