काठमाडौं,२७ वैशाख । नेपाली कम्युनिष्ट पार्टीमा नेताहरुको कार्यबिभाजन गरिएको थाहाभएको छ । सो पार्टीले बिभिन्न ४९ वटा विभाग तथा मोर्चाको जिम्मेवारी बाँडफाँट गरेको छ । पार्टीको केन्द्रीय कार्य–संयोजन समितिको गत चैत १९ गतेदेखि गत १५ गतेसम्म बसेको बैठकको निर्णय कार्यान्वयनका लागि जारी अन्तरपार्टी निर्देशन (अपानी)–३ मार्फत विभागीय प्रमुख तथा उपप्रमुख तोकिएका हुन् । निर्देशनअनुसार अनुगमन तथा मूल्यांकन विभागको प्रमुखमा नारायणकाजी श्रेष्ठ, अन्तर्राष्ट्रिय सम्बन्ध विभागको जिम्मेवारी प्रमेश कुमार हमाल, उद्यमशीलता तथा उत्पादन विभागको प्रमुख वामदेव गौतम, प्रचार विभागको नेतृत्वमा रेखा शर्मा तोकिनु भएको छ ।

त्यसैगरी रञ्जिता श्रेष्ठलाई कृषि तथा भूमि व्यवस्था विभागको प्रमुख बनाइएको छ । राष्ट्रिय हित सुरक्षा विभागको जिम्मेवारी कृष्णबहादुर महरालाई दिइएको छ । संगठन विभागको प्रमुखमा वर्षमान पुन नियुक्त हुनुभएको छ ।

प्रवास प्रदेश समन्वय समितिको जिम्मेवारी पम्फा भुसाललाई दिइएको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेको अपानी–३ अनुसार नीति अध्ययन अनुसन्धान प्रतिष्ठानको प्रमुखमा राजेन्द्र श्रेष्ठ, स्थानीय तह विभागमा अग्नि सापकोटा, श्रम तथा रोजगार विभागमा गरिमा शाह तथा शिक्षा विभागमा गिरीराजमणि पोखरेललाई जिम्मेवारी दिइएको छ । त्यस्तै डा. बेदुराम भुसाललाई पार्टी स्कूल विभागको प्रमुख बनाइएको छभने विना मगरले खानेपानी तथा सरसफाइ विभागको जिम्मेवारी पाउनुभएको छ ।