काठमाडौं,२७ वैशाख । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुगेको छ । नेपाल बिद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरुद्वारा उत्पादित बिद्युत का आधारमा उक्त क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । परीक्षणमा रहेका आयोजना र वैकल्पिक ऊर्जाको स्रोतबाट उत्पादितबाहेक चार हजार २९६ मेगावाट क्षमता निर्धारण भएको हो । चालु आर्थिक वर्षको अन्त्यसम्म कूल जडित क्षमता चार हजार ५०० मेगावाटभन्दा माथि पुग्ने मन्त्रालयले प्रक्षेपण गरेको छ । हाल निर्माणको क्रममा तीन हजार मेगावाट क्षमताका आयोजना छन् भने निर्माणमा जान तयारी अवस्थामा रहेका आयोजनाको क्षमता पनि समान रहेको मन्त्रालयले जनाएको छ । हालसम्म ६६ केभीभन्दा माथिका करिब सात हजार ३६० सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । यस्तै, १४ हजार ३२३ एमभिए क्षमताको सवस्टेसन निर्माण सम्पन्न भएको मन्त्रालयले उल्लेख गरेको छभने ३३ केभी क्षमताका करिब आठ हजार २२५ सर्किट किलोमिटर प्रसारण लाइन तथा तीन हजार ३०८ एमभिए क्षमताको सबस्टेसन निर्माण भएका छन् ।

सरकारको पहल र सक्रियता, नेपाल बिद्युत प्राधिकरणले सञ्चालन गरेको विशेष अभियानका कारण देशभरको बिद्युत चुहावट १२ दशमलव पाँच प्रतिशतमा सिमित भएको प्राधिकरणले जनाएको छ । प्राविधिक चुहावटलाई क्रमशः घटाउँदै लैजाने लक्ष्य राखिएको छ । सवस्टेसनको क्षमता विस्तार, प्रसारण लाइनको स्तरोन्नति तथा प्राविधिक उपाय अवलम्बनगर्दै चुहावट क्रमशः घटाइने मन्त्रालयले स्पष्टपारेको छ । यसैगरी प्रतिव्यक्ति बिद्युत खपत ४५० किलोवाट घण्टा बराबर पुगेको छ । हालसम्म राष्ट्रिय बिद्युत प्रणाली र वैकल्पिक ऊर्जाको स्रोतबाट बिद्युत मा पहुँचमा पहुँच प्राप्त जनसंख्या ९९ प्रतिशत बराबर पुगेको छ । हालसम्म बिद्युत निर्यात दुईहजार ९१८ गिगावाट प्रतिघण्टा छभने बिद्युत आयात करिब ५९० गिगावाट घण्टा भएको छ । हालसम्म सौर्य बिद्युत उत्पादन क्षमता ६२ दशमलव सात मेगावाट बराबर पुगेको छ ।

लघु तथा साना जलबिद्युत आयोजनाबाट ५५ दशमलव तीन मेगावाट बराबर बिद्युत उत्पादन भएको छ । सिँचाइतर्फ हालसम्म सिँचाइ सुविधा १५ लाख ८७ हजार ९१० हेक्टर जमिनमा पुगेको मन्त्रालयले जनाएको छ । सिँचाइयोग्य जमिनमध्ये पाँचलाख ३२ हजार ९० हेक्टरमाभने वर्षभरीमा सिँचाइ सुविधा उपलब्ध रहेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय विवरणमा उल्लेख छ । रासस