काठमाडौं,२७ वैशाख । एमालेको संसदीय दलको बैठकले दलको सांगठनिक संरचनालाई पूर्णता दिँदै २१ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हिजो बसेको बैठकले संसदीय दललाई व्यवस्थित बनाउन र आगामी बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाहगर्न भन्दै संसदीय बोर्ड गठन गरेको हो । नवनिर्मित संसदीय बोर्डमा दलका नेता, उपनेता, राष्ट्रिय सभाका दलका नेता, प्रमुख सचेतक, सचेतक र राष्ट्रिय सभाका सचेतक गरी ६ जना पदाधिकारी रहने एमालेका प्रमुख सचेतक ऐन महरले बताउनुभएको छ ।

बाँकी १५ सदस्यमा प्रतिनिधि सभाका १०, राष्ट्रिय सभाका चार र संयुक्त समितिका दुईगरी कुल १६ वटा संसदीय समितिमा एमालेको तर्फबाट प्रतिनिधित्वगर्ने नेतृत्वकर्ता (संयोजक) रहनेगरी संरचना तयार गरिने उहाँले बताउनु भयो । बैठकले सरकारको पछिल्लो कार्यशैलीप्रति आपत्तिसमेत प्रकट गरेको छ। प्रमुख सचेतक महरले सरकारले संसद्लाई उपेक्षा गर्दै ‘कठपुतली’ बनाउन खोजेको आरोप लगाउनु भयो । उहाँले संसदको अधिवेशन अन्त्यगरेर अध्यादेशमार्फत शासन चलाउने सरकारको प्रयास अलोकतान्त्रिक, अराष्ट्रिय र जनमतको अवमूल्यन हो ।

अध्यादेशका माध्यमबाट लोकतान्त्रिक मूल्यमान्यतालाई कमजोर बनाउने कार्यको एमालेले सशक्त प्रतिवादगर्ने बताउनुभएको थियो । बैठकले सुकुम्बासी व्यवस्थापनका नाममा सरकारले डोजर आतंक सिर्जना गरेको र मानव अधिकारको गम्भीर उल्लंघन गरेको निष्कर्ष निकालेको छ । राज्यले नागरिकको आत्मसम्मानमा चोट पु¥याएको र कतिपय अवस्थामा आत्महत्याका लागि दुरुत्साहनगर्ने परिस्थिति निर्माण गरेकोभन्दै एमालेले यस विषयलाई आगामी सदनमा सशक्त रुपमा उठाउने निर्णय गरेको छ । भोली वैशाख २८ गतेदेखि शुरु हुने बजेट अधिवेशनमा एमालेले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनाएको छ ।