काठमाडौं,२७ वैशाख । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपाल, रेडियो ब्रोडकाष्टर्स फोरम (आरबीएफ) नेपाल र ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (बान)ले विगतमा तोकिएका संगीत रोयल्टीका आधार र दरको वैज्ञानिक पुनरावलोकन गर्र्नुपर्ने माग गरेका छन् । ती संघसंस्थाले आजोजना गरेको संयुक्त भेलाबारे विज्ञप्तिमार्फत सार्वजनिकगर्दै रेडियोहरुको खस्कँदो आर्थिक अवस्था र दिगोपनाको चुनौतीलाई मध्यनजरगरी विगतमा तोकिएका संगीत रोयल्टीका आधार र दरको वैज्ञानिक पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।
भेलाले भक्तपुर एफएमका सञ्चालकमाथि गत २५ गतेका दिन संगीत रोयल्टी संकलन समाजका नाममा फौजदारी अभियोग लगाई गरिएको धरपकडको घटनाप्रति आपत्ती जनाएको छ । संवाद चलिरहेकै बेला धरपकड र मुद्दामामिलाले श्रष्टा र एफएम रेडियोहरुबीचको सम्बन्धमा दरार पैदा गरेकाले सो कार्य तत्काल रोक्न माग गरेको छ । ऐन, कानूनको गलत व्याख्यागरी, व्यापारिक एजेन्ट परिचालन गरी, रेडियोकर्मी र सञ्चालकलाई अपराधी करारगर्दै फौजदारी मुद्दा लगाउने, धरपकडगर्ने कार्य बन्द गर्नुपर्ने र प्रतिलिपि अधिकार ऐन–०५९ ऐनको दफा २७ को दुरुपयोगगरी दफा २५ को देवानी विषयलाई फौजदारी बनाएर त्रसित पार्ने कार्य बन्दगर्न भेलाको माग छ । रासस