हैदरावाद, २८ वैशाख । मध्यपूर्वमा जारी संकटकाबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पेट्रोल, डिजेल र ग्यासको सकेसम्म कम प्रयोगगर्न जनतालाई अपिल गर्नुभएको छ । यसले विदेशी विनिमयको बचत गर्नुकासाथै विश्व युद्धजस्तो अवस्थाको प्रभाव पनि कम हुने उहाँको भनाइ छ । उहाँले भारतले पेट्रोल, डिजेल र ग्यासको विकल्पमा सौर्य ऊर्जा, इथानोल, सीएनजी र पाइप्ड ग्यासलाई पनि बढावा दिने सरकारको नीति रहेको बताउनुभयो । उहाँले हैदराबादमा नौ अर्ब ४० करोड भारतीय रुपैँयाका परियोजनाहरुको उद्घाटन र शिलान्यास समारोहमा बोल्दै देशलाई मध्यपूर्वमा जारीे युद्धबिच आउने सबै खाले संकटलाई टार्न नागरिकसमेतले विवेकपूर्णरुपमा दैनिकी चलाउनुपरेको उल्लेख गर्नुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले ठूलो परिमाणमा पेट्रोलियम पदार्थ विदेशबाट आयात गर्ने गरेको बताउँदै यस्तोमा यदि मानिसहरुले आवश्यकताभन्दा बढी पेट्रोल, डिजेल र ग्यासको प्रयोग गरेभने त्यसको प्रत्यक्ष असर देशको अर्थतन्त्रमा पर्नेछ । विश्व अहिले ठूलो ऊर्जा संकटबाट गुज्रिरहेको र मध्यपूर्वमा जारी तनावले चिन्तालाई थपबढाएको उहाँले बताउनुभयो । प्रधानमन्त्री मोदीले जनतालाई पेट्रोलियम पदार्थको बुद्धिमानीपूर्वक प्रयोग गरी विदेशी विनिमयको बचत मात्र नभएर युद्ध र विश्वव्यापी संकटको प्रभाव पनि कम गर्ने उनको भनाइ छ । प्रधानमन्त्री मोदीले पछिल्ला केही वर्षमा भारत सौर्य ऊर्जाको क्षेत्रमा विश्वका प्रमुख देशहरुमा सम्मिलित भएको छ। पेट्रोलमा इथानोल मिसाउने काम तीव्र गतिमा अघि बढाइएको छ भन्नुभयो । उहाँले अगाडि भन्नुभयो–सरकारले पहिले देशका हरेक घरमा एलपी ग्यास पु¥याउन काम गरिरहेको थियो, अहिले पाइपबाट ग्यास सस्तो दरमा उपलब्ध गराउनेमा जोडदिइएको छ । यसका साथै सीएनजीमा आधारित प्रणालीलाई पनि प्रवर्धन गरिएको छ । यी सबै प्रयासका कारण भारतले विश्वको सबैभन्दा ठूलो ऊर्जा संकटको सामना गर्न सक्षम भएको छ ।

कार्यक्रममा प्रधानमन्त्री मोदीले तेलङ्गानाका मुख्यमन्त्री ए. रेवन्त रेड्डीलाई केन्द्रसँग मिलेर कामगर्न सुझाव दिनुभयो । लोकतन्त्रमा विभिन्न दलको सरकार हुनु गलत नभएकाले प्रदेश र देशको विकासका लागि मिलेर काम गर्नुपर्ने उहाँको भनाइ थियो । प्रधानमन्त्री मोदीले राज्यको प्रगतिलेमात्र देश अगाडि बढ्छ भन्दै ‘विकसित भारत २०४७’ को लक्ष्य हाशिलगर्न सामूहिक प्रयासमा जोड दिनुभएको थियो । रासस, एएफपी