काठमाडौं, २८ वैशाख । हिजो काठमाडौंमा निर्मल लामा स्मृति प्रतिष्ठान नेपालद्वारा २६ औं निर्मल लामा स्मृति सभाको आयोजना गरिएको थियो । सो सभालाई सम्बोधनगर्दै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिमा सच्चा कम्युनिष्ट शक्तिहरुबीचको एकता अनिवार्य बनेको पनि बताउनुभएको थियो । सम्बोधनकाक्रममा दाहालले विश्व कम्युनिष्ट आन्दोलनको इतिहासनै बहस, विवाद, विभाजन र एकताको श्रृंखलाबाट गुज्रिएको बताउनुभएको थियो । संयोजक दाहालले देशमा बाह्य र साम्राज्यवादी शक्तिहरुको हस्तक्षेप बढ्दैगएकोभन्दै चिन्ता व्यक्त गर्नुभएको थियो । राष्ट्रियता र देशको सार्वभौमिकता अप्ठ्यारो अवस्थामा पुगेको टिप्पणीगर्दै उहाँले कम्युनिष्ट शक्तिहरुलाई कमजोरपार्न देशी÷विदेशी शक्तिहरु लागिपरेको दाबी पनि गर्नुभएको थियो । सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री सिंहले निर्मल लामाका बारेमा लिखित मन्तब्य प्रस्तुत गर्नुभएको थियो । त्यसक्रममा उहाँले भन्नुभएको थियो– निर्मल लामा नेपालको प्रजातान्त्रिक र वामपन्थी आन्दोलनमा ठुलो योगदान रहेको छ । यो खुसीको कुरा हो कि उहाँले र मैले नेपालको कम्युनिष्ट आन्दोलनमा सँगै कामगर्दै आएका थियौँ । त्यस सिलसिलामा उहाँसित मेरो पनि धेरैनै घनिष्ठ र निकट सम्बन्ध रहेको थियो ।

काठमाडौंमा २०११ सालमा आयोजित जिल्ला पार्टीका सेक्रेटरीको प्रशिक्षण कार्यक्रममा हामी दुवै जनाले सँगै भाग लिएका थियौँ । त्यो बेला उहाँ काठमाडौं जिल्ला कमिटीको सेक्रेटरी हुनुहुन्थ्यो भने म प्युठान जिल्ला कमिटीको सेक्रेटरीको हैसियतले त्यो प्रशिक्षण कार्यक्रममा भाग लिन आएको थिएँ । त्यही प्रकारले दरभङ्गा प्लेनममा पनि हामीले सँगै काम गरेका थियौँ । त्यो प्लेनममा संविधानसभाको पक्षमा जुन बहुमत प्राप्त भयो, त्यसमा उहाँको पनि महत्त्वपूर्ण योगदान रहेको थियो । काठमाडौँको भद्रगोल जेलमा २०२६ सालमा एक महिनासम्म एक प्रकारको भेला जस्तो गरेर त्यो बेला विभाजित पार्टीलाई एकताबद्ध गर्नका लागि हामीले सँगै तीनओटा प्रस्ताव पास गरेका थियौँ । ती प्रस्तावले पछि केन्द्रीय न्युक्लियस बनाएर पार्टीलाई एकताबद्ध गर्नका लागि धेरै नै मदत पु¥याएका थिए । पछि केन्द्रीय न्युक्लियस निर्माण गरेर हामी बेग्लाबेग्लै टुक्रामा बाँडिएको पार्टीलाई एकताबद्ध गर्ने काममा सँगसँगै जुटेका थियौँ र त्यस प्रकारको प्रयत्नको परिणामस्वरुप नै बनारसमा २०३१ सालको असारमा पार्टीको चौथो महाधिवेशन सम्पन्न भएको थियो । त्यसले जुन पार्टीको निर्माण ग¥यो, त्यो त्यस बेलाको नेपालको सबैभन्दा ठुलो कम्युनिष्ट पार्टी थियो । पछि त्यो बेला भारतमा देखा परेको नक्सलवादी आन्दोलनको हाम्रो पार्टीमा परेको असरका कारणले हाम्रो पार्टीमा पनि उग्र “वामपन्थी” प्रवृत्ति देखा परे र हाम्रो पार्टीमा फुट भयो । त्यो उग्र “वामपन्थी” भड्कावका विरुद्ध पनि कामरेड लामा र हामीले सँगसँगै कडा सैद्धान्तिक, राजनीतिक र संगठनात्मक संघर्ष गरेका थियौँ । त्यसरी पार्टीभित्र लामाजी र हाम्राबिचमा सहकार्यका कैयौँ महत्त्वपूर्ण र गौरवपूर्ण पाना रहेका छन् । यहाँ यो कुराको उल्लेख गर्नु पनि सायद अप्राशंगिक हुने छैन वा ती कुराको उल्लेख नगर्नु इतिहासलाई गलत प्रकारले प्रस्तुतगर्नु वा ढाकछोप गर्नु नै हुनेछ कि पार्टीमा कामगर्ने सिलसिलामा हाम्राबिचमा कैयौँ मतभेद पनि देखापर्ने गरेका थिए । भद्रगोल जेलमा तीनओटा दस्तावेज तयार पार्दा उहाँ र हाम्राबिचमा केही मतभेद पनि थिए । त्यो बेला हामीले नेपाली कङ्ग्रेसलाई राष्ट्रिय पूँजीपति वर्गको पार्टी र त्यसकारण नयाँ जनवादी क्रान्तिको मित्रशक्ति मान्ने विश्लेषणलाई बदलेर त्यसलाई पनि राजासरह सामन्त, दलाल र नोकरशाही पूँजीपति वर्गको पार्टी भएको विश्लेषण गर्दै त्यसलाई दुस्मन शक्ति भएको विश्लेषण गरेका थियौँ । हाम्रो त्यो विश्लेषणसित उहाँले मतभेद राख्नुभएको थियो तर जेलबाट बाहिर आएपछि उहाँ त्यो बेला भद्रगोल जेलको भेलाले गरेको हाम्रो विश्लेषणसित सहमत हुनुभएको थियो । उहाँले आफ्नो संस्मरणमा त्यो कुराको उल्लेख पनि गर्नुभएको छ । त्यसरी उहाँको र हाम्राबिचको सम्बन्धमा एकतामा विरोध र विरोधमा एकता अन्तर्निहित थियो । त्यसरी एक वा अर्को अर्थमा उहाँ र हाम्राबिचको सम्बन्धको प्रकृति द्वन्दात्मक प्रकारको थियो । पछि पनि हाम्राबिचको सम्बन्ध त्यही प्रकारले द्वन्दात्मक रुपमा अगाडि बढ्दै गएको थियो । पञ्चायती चुनावलाई उपयोगको प्रश्नमा हाम्राबिचमा गम्भीर प्रकारको मतभेद देखा प¥यो । पार्टीका कैयौँ केन्द्रीय समितिका बैठक, भेला वा सम्मेलनमा हाम्रा र उहाँका बिचमा गम्भीर प्रकारका मतभेद देखा परे । पछि लामाजी र म दुवै जना केन्द्रीय कमिटीमा नभएको बेलामा पार्टीभित्र गम्भीर प्रकारको मतभेद देखा प¥यो ।

त्यो मतभेदका सिलसिलामा केन्द्रीय कमिटीका ६ जना साथीले केन्द्रीय कमिटीबाट राजीनामा दिनुभयो र त्यो राजीनामालाई सार्वजनिक पनि गर्नुभयो । त्यो घटनाबारे विचार गर्न २०४० सालमा गोरखपुरमा पार्टीको एउटा सम्मेलन भयो । ६ जना साथीहरुले दिएको राजीनामा र उहाँहरुले त्यसलाई सार्वजनिक गरेको विषयमा लामाजी र हाम्राबिचमा गम्भीर प्रकारको मतभेद देखा प¥यो र त्यही कारणले पार्टी विभाजित पनि भयो । त्यसपछि पार्टी नेकपा (मसाल) र नेकपा चौथो महाधिवेशनका बिचमा विभाजित पनि भयो । त्यो हाम्रो पार्टीको इतिहासको अत्यन्त दुःखद र अप्रिय घटना थियो । त्यसले पार्टीलाई धेरै नै क्षति पु¥यायो । हामीलाई के लाग्दछ भने गोरखपुरको सम्मेलनमा हाम्राबिचमा केही समझदारी बन्न सकेको भए त्यो दुःखद घटनालाई रोक्न सकिन्थ्यो र रोक्नु पनि पर्दथ्यो । त्यसो हुन सकेको भए पार्टी पछिल्ला दिनका धेरै क्षतिबाट बच्न सक्दथ्यो । त्यसरी त्यो बेला पार्टीमा जुन फुट भयो, त्यो गम्भीर प्रकारको गल्ती थियो । त्यसको लागि को कति जिम्मेवार थियो ? त्यसको मूल्याङ्कन हुनु आवश्यक छ वा इतिहासले त्यसको मूल्याङ्कन गर्नेछ । पाँचौँ महाधिवेशनपछि पार्टी ‘पातलो’ र ‘मोटो’ मसाल÷मशालको रुपमा विभाजन भयो । त्यसपछि हाम्रो पार्टी नेकपा (मसाल), नेकपा (चौथो महाधिवेशन), नेकपा (मशाल) र सर्वहारावादी श्रमिक संगठनका बिचमा पार्टी एकताको कुरा चल्यो । अन्य पक्षको जोड पहिलो दिन भेट भएको बेलामा नै पार्टीएकता गर्ने कुरामा थियो तर हामीले पहिले हाम्राबिचमा भएका सबै मतभेदबारे विस्तृत रुपले छलफल गरेर मात्र पार्टीएकता गर्नुपर्ने कुरामा जोड दियौँ । फलतः हाम्राबिचमा पार्टीएकताबारे सहमति हुन सकेन । त्यसपछि अन्य पक्षका बिचमा पार्टीएकता भयो र नेकपा (एकता केन्द्र) गठन भयो । लामाजीको नेतृत्वको चौथो महाधिवेशन पनि त्यसमा सामेल भयो र हामी त्यसबाट अलग रह्यौँ । पछि चौथो महाधिवेशन पनि त्यसबाट अलग भयो र लामाजीको नेतृत्वमा नेकपा (एकता केन्द्र) को रुपमा त्यसको बेग्लै अस्तित्व रहिरह्यो । त्यसपछि लामाजी तथा कामरेड चित्रबहादुर केसी र मेराबिचमा कैयौँ गोप्य बैठक भए । ती सबै बैठक लामाजीको घर भएको स्थान म्हेपीमा नै हुने गरेका थिए तर लामाजी एकताकेन्द्रको नेतृत्वबाट हटेकाले र त्यसपछि छिट्टै उहाँको मृत्यु भएको हुनाले उहाँसितको एकताको वार्ताको सार्थक परिणाम निस्केन । लामाजीको मृत्यु भएपछि पनि उहाँसित भएको कुराकानीको सिलसिला अगाडि बढेर एकताकेन्द्रसित हाम्रो पार्टी एकता पनि भयो तर त्यो एकता दिगो रहन सकेन । हामीलाई लाग्छ, लामाजी जीवित भएको भए र उहाँ एकताकेन्द्रको नेतृत्वमा पनि रहिरहेको भए चौथो महाधिवेशनको कालमा जस्तै हाम्राबिचको एकता सुदृढ हुन्थ्यो । त्यो एकतामा स्थायित्व पनि आउने थियो र त्यसले नेपालको कम्युनिष्ट आन्दोलनमा पनि धेरै योगदान दिने थियो ।

माथिको संक्षिप्त विवरणबाट प्रष्ट हुन्छ कि लामाजी र हाम्राबिचमा अत्यन्त घनिष्ठ प्रकारको सम्बन्ध थियो । बिचबिचमा हाम्राबिचमा मतभेद देखा परेपनि वा कुनै बेला ती मतभेद फुटको रुपसम्म विकसित भए पनि त्यस बेलाका मतभेद र फुटका बिचमा पनि हाम्राबिचमा अत्यन्त घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध रहिरह्यो । त्यसले उहाँ र हाम्राबिचको एकता र विरोधको द्वन्दात्मक प्रकृतिलाई नै बताउँछ । उहाँको जीवनको अन्त्य कालमा त्यस प्रकारको मैत्री सम्बन्धले अत्यन्त घनिष्ठ र गाढा रुप लिएको थियो तर उहाँको स्वास्थ्य र मृत्युका कारणले त्यो सम्बन्ध ठोस रुपमा अगाडि बढ्न सकेन । त्यसका लागि हामीलाई धेरै नै दुःख छ । कामरेड लामाको निधनपछि तुरुन्तै लेखेको एउटा लेखमा उहाँसितको एकता र विरोधको सम्बन्धलाई मैले आफ्नो पिताजी खिमविक्रमसित पनि तुलना गरेको थिएँ । उहाँसित मेरो अत्यन्त आत्मीय सम्बन्ध थियो । उहाँले प्युठानमा पार्टीको निर्माण र किसान आन्दोलनमा पनि महत्त्वपूर्ण योगदान दिनुभएको थियो । २०१० सालमा प्युठानमा तीन महिनासम्म चलेको आवासीय शिक्षण शिविर नेपालको कम्युनिष्ट आन्दोलन मात्र होइन, नेपालको सम्पूर्ण राजनीतिक इतिहासको नै अद्वितीय उदाहरण थियो । त्यसभन्दा पहिले र त्यसपछि पनि त्यस प्रकारको लामो आवासिय शिविर नेपालमा चलेको छैन । त्यो शिविरको सञ्चालनमा पिताजी खिमविक्रमको महत्त्वपूर्ण योगदान रहेको थियो । त्यो शिविरको बेलामा नै प्युठानमा कम्युनिष्ट पार्टीको गठन भएको थियो । प्युठानमा चलेका कैयौँ किसान आन्दोलन वा राजनीतिक आन्दोलनमा पनि उहाँको सक्रिय र महत्त्वपूर्ण योगदान रहेको थियो तर उहाँसित सम्बन्धित किसान सङ्घर्षको बेलामा हाम्रो उहाँसित तीव्र संघर्षचलेको थियो । त्यस प्रकारको सङ्घर्षका बाबजुद हामी दुवै बाबुछोराका बिचमा अत्यन्त आत्मीय सम्बन्ध पनि थियो र जीवनभरि नै हामी दुवै बाबुछोराले एकअर्कालाई धेरै माया गरेका थियौँ । हामी दुवै जना आपसमा लड्दथ्यौँ तर लड्दालड्दै पनि हामी दुवै जनाले एकअर्कालाई धेरै नै माया गरिरहेका हुन्थ्यौँ । त्यही प्रकारको सम्बन्ध कामरेड निर्मल लामा र मेराबिचको पनि थियो । त्यही प्रकारको मेरो सम्बन्ध कामरेड कमलराज रेग्मीसित पनि रहेको थियो । २०१० सालमा मैले उहाँलाई नै पार्टीको सदस्यताका लागि दरखास्त दिएको थिएँ । हामीले कैयौँ किसान संघर्षर पार्टीका कार्यक्रममा सँगसँगै भाग लिएका थियौँ तर पछि उहाँ पञ्चायती व्यवस्थामा सामेल हुनुभयो र हाम्राबिचमा अन्तर्विरोध पैदा भयो तर त्यस प्रकारको अन्तर्विरोधको बेलामा पनि हाम्राबिचमा व्यक्तिगत रुपमा मैत्री सम्बन्ध रहिरहेको थियो । २०७२ सालमा उहाँले पुनः पार्टीसदस्यताका लागि दरखास्त दिनुभयो । त्यो दरखास्त दिने बेलामा उहाँले भन्नुभएको थियो– पहिले मैले तपाईंबाट पार्टीको सदस्यताका लागि दरखास्त लिएको थिएँ । अब मैले पार्टीको सदस्यताका लागि तपाईंलाई दरखास्त दिँदैछु तर अफसोचको कुरा छ कि त्यसपछि उहाँ धेरै समय बाँच्नुभएन । यस सन्दर्भमा कामरेड चित्रबहादुर केसीको उल्लेखगर्नु पनि सायद अप्राशंगिक हुने छैन ।

यो आमरुपमा थाहा भएको कुरा होकि पार्टीमा लामो समयदेखि उहाँ र मेराबिचमा घनिष्ठ सम्बन्ध रहँदै आएको छ तर त्यो सम्बन्धमा पारस्परिक विरोधका कैयौँ प्रसंग पनि रहने गरेका छन् । २०४८ सालमा संसदीय चुनाव उपयोगको सन्दर्भमा उहाँ र हाम्राबिचमा तीव्र मतभेद देखापरेको थियो । उहाँ चुनाव उपयोगको पक्षमा हुनुहुन्थ्योभने हामी त्यसको बहिष्कारको पक्षमा । केन्द्रीय कमिटीमा उहाँको मत बहुमतमा आयो तर सम्मेलनमा बहिष्कारको पक्ष बहुमतमा आयो तर सम्मेलनमा उहाँको मत अल्पमतमा परे पनि उहाँ विनाहिचकिचाहट बहुमतको निर्णयको पक्षमा दृढतापूर्वक उभिनुभयो । उहाँको त्यो स्प्रिटले त्यो बेला मात्र होइन, पछि सधैँ पार्टीको एकता र अनुशासनलाई धेरै नै मदत पु¥यायो । पछि कैयौँ प्रसंगमा पनि उहाँ र हाम्राबिचमा कैयौँ मतभेद देखा परेका थिए तर ती सबै मतभेदलाई हामीले द्वन्दात्मक प्रकारले नै ग्रहण ग¥यौँ । त्यसले गर्दा हाम्राबिचमा सधैँ बलियो एकता कायम रहिरह्यो । त्यही प्रकारले लामाजीसितका मतभेदका कारणले हाम्राबिचमा फुट भए पनि त्यो फुटका बाबजुद हामी पुनः एकताबद्ध हुनका लागि अग्रसर भएका थियौँ ।

अफसोचको कुरा हो कि उहाँको असामयिक निधनको कारणले त्यस प्रकारको एकताले साकार रुप लिन सकेन । कामरेड लामा अब हाम्राबिचमा हुनुहुन्न । त्यही पनि उहाँले पार्टी र क्रान्तिका लागि दिएका अमूल्य देन हाम्राअगाडि छन् र तिनीहरुले पार्टी र क्रान्तिका अधुरा रहेका कामलाई अगाडि बढाउन लगातार शिक्षा र प्रेरणा दिइरहनेछन्भन्ने हामीलाई विश्वास छ । उहाँले देखेको एउटा महत्त्वपूर्ण सपना पार्टीएकताको थियो । हामीले उहाँको त्यो सपनालाई पूरागर्ने प्रयत्न पनि ग¥यौँ तर त्यो सफल हुनसकेन । वास्तवमा माक्र्सवादी–लेनिनवादी सिद्धान्त, क्रान्तिकारी राजनीतिक लाइन, लेनिनवादी संगठन प्रणाली र सर्वहारा स्प्रिटको आधारमा नै त्यस प्रकारको एकता अगाडि बढ्न सक्दछ । त्यस प्रकारको एकता नै पार्टीको हितमा हुनेछ । त्यस प्रकारको पार्टी एकताका लागि हामीले अहिले पनि प्रयत्नगर्दै जानुपर्दछ र त्यस प्रकारको सिद्धान्तनिष्ठ एकताले नै पार्टी र क्रान्तिलाई अगाडि बढाउन मदत गर्नेछ । कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।