
काठमाडौं, २८ वैशाख । प्रधानमन्त्रीले राजीनामा नगर्दा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ छटपटीमा पर्नुभएको थाहा भएको छ । उहाँले गत केही दिनदेखि प्रधानमन्त्री वालेन शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा माग्दै आउनुभएको छ । केही सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष साम्पाङले २३ वटा बुँदागत कारण प्रस्तुतगर्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभएको छ । उहाँले प्रधानमन्त्रीको राजीनामा माग्नुको मुख्य कारणमध्ये सीमा रक्षामा भएको कमजोरी र नेपाली सेनाको दुरुपयोग प्रमुख रहेको बताए।
‘प्रधानमन्त्रीले सीमा रक्षामा चुक्नुभएको छ र नेपाली सेनाको दुरुपयोग गरिरहनुभएको छ । सेनालाई ठूला प्राकृतिक प्रकोप वा संकटकालमा मात्र निकाल्नुपर्छ, सुकुम्बासी बस्तीतिर घुमाउने र लगत संकलनमा लगाउने काम सेनाको होइनभन्ने रहेको छ । अध्यक्ष साम्पाङले सरकारले संसदलाई उपेक्षा गरेर अध्यादेशको बाटो रोजेकोमासमेत आपत्ति जनाउनु भएको छ । उहाँले सार्वभौम संसद्लाई छलेर ल्याइने अध्यादेशले लोकतन्त्रमाथिनै प्रश्न उठाएको बताउनु भएको छ ।
उहाँले संसद् भनेकै लोकतन्त्र हो, तर संसद् छलेर अध्यादेशको बाटो रोज्नु भनेको लोकतन्त्र नमान्नु हो। छिटो डेलिभरी दिने बहानामा विधि मिच्न पाइँदैन । जसरी छिटो धन कमाउन मान्छेले तस्करी वा भ्रष्टाचार गर्छ, सरकारले पनि अध्यादेशमार्फत त्यस्तै गलत बाटो रोजेको छ भन्नुभएको छ । उहाँले न्यायपालिकाको नियुक्तिमा वरिष्ठता मिचिएको विषयलाई पनि प्रधानमन्त्रीको राजीनामाको कारणकारुपमा अघि सार्नुभएको छ । चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरेर सरकारले न्यायालयलाई विवादमा तानेको उहाँको आरोप छ । उहाँले प्रधानमन्त्रि वालेन्द्रले विधिभन्दा बाहिर गएर किन काम गर्नुप¥यो ? भन्ने प्रश्न पनि गर्नुभएको छ ।