
काठमाडौं, २८ वैशाख । नेपाल पत्रकार महासंघ रुपन्देहीद्वारा बुटवलमा आयोजित मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलनअन्तर्गत प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र स्रोताको मन ? विषयक बहसमा सहभागी वक्ताहरुले अग्रज पत्रकारहरुले सञ्चारमाध्यम सधैँ जनताको पक्षमा उभिनुपर्ने तथा सत्ता र शक्तिलाई निरन्तर प्रश्नगर्न सक्नुपर्नेमा जोड दिएका छन् । पत्रकारिता जनआवाजको सशक्त माध्यम बन्नुपर्ने बताएका हुन् । उहाँहरुले सञ्चारमाध्यमले सत्य, तथ्य र जनचासोका विषयलाई प्राथमिकतामा राख्दै लोकतन्त्रको रक्षा, सुशासन प्रवद्र्धन तथा नागरिक अधिकारको पक्षमा निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले पछिल्लो समय मिडियाले पस्किने सामग्रीको विश्वसनीयता र आधारमाथि प्रश्न उठ्न थालेको बताउनुभयो । उहाँले सबै सूचना समाचार नहुने उल्लेखगर्दै डिजिटल प्रविधि र ‘अल्गोरिदम’को प्रभावले सम्पादकीय स्वतन्त्रतामाथि चुनौती थपिएको धारणा राख्नुभयो । उहाँले पत्रकारले सधैँ सत्ता र शक्तिलाई प्रश्न गर्नुपर्छ, कमजोरी सच्याउँदै अघि बढ्नुपर्छ भन्नुभएको थियो ।
मिडियाले सत्य सूचनालाई समाचार बनाउन डराउन नहुने र सत्तालाई प्रश्नगर्न छाडे नागरिक अधिकार कमजोर बन्नसक्ने उहाँको भनाइ थियो । जनआस्थाका सम्पादक किशोर श्रेष्ठले पत्रकारिताको मूल धर्म सत्य र तथ्यको पक्षमा उभिनु रहेको बताउनुभयो । सत्यबाट विचलित नभई जोखिम मोलेर पनि तथ्य प्रस्तुत गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । उहाँले स्रोतप्रति विश्वास र जिम्मेवारीबोधसहित पत्रकारले आफ्नो कर्ममा निरन्तर लागिरहनुपर्छ भन्नुभयो । समाधान दैनिकका केशवशरण लामिछानेले गुणस्तरीय सामग्री र खोजमूलक समाचार प्रस्तुत गर्नसके सञ्चारमाध्यमप्रति पाठकको विश्वास बढ्ने बताउनुभयो । अनलाइनमा प्रकाशित समाचारजस्ताको तस्तै पत्रिकामा छापेर पाठक आकर्षितगर्न नसकिने उहाँको भनाइ थियो ।
उहाँले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र केन्द्रितगर्ने नीतिले निजी सञ्चारमाध्यम, विशेषगरी पत्रिकाहरु थप संकटमा परेको उल्लेख गर्नुभयो । जस्तोसुकै चुनौती भएपनि पत्रकार र सञ्चारगृहले प्रश्नगर्न छाड्न नहुने उहाँले बताउनुभएको थियो । कार्यक्रममा पत्रकार भरत केसी, सुदीप भण्डारी, माया गौतम, तिलक सुवेदी, अर्जुन ज्ञवालीलगायतले पत्रकारितामा देखिएका समसामयिक चुनौती, विश्वसनीयता, पाठकको रुचि र डिजिटल प्रतिस्पर्धाका विषयमा धारणा राख्नुभएको थियो ।