
काठमाडौं, २८ वैशाख । उपत्यका बाहिर सुमुम्बासी हटाउने अभियान तीब्र पारिएको छ । यसैक्रममा बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमणगरी निर्माण गरिएका घरटहरा हटाउने अभियानलाई दोस्रो दिन पनि निरन्तरता दिएको छ । कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा अतिक्रमणगरी निर्माण गरिएका १०८ घरटहरा हटाइएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले गत शनिबारदेखि नगर विकास समितिको कोहलपुर ३ (ख) अन्तर्गत पर्ने करिब ३६ बिघा क्षेत्रफलमा रहेको अतिक्रमित बस्ती हटाउने अभियान शुरुगरेको हो । विशेषगरी क्रिकेट मैदान आसपासको क्षेत्रमा वर्षौंदेखि निर्माण गरिएका अस्थायी तथा स्थायी संरचना हटाइएको हो । गत शनिबार ४० घरटहरा हटाइएको थियो । कोहलपुर नगरपालिकाका नगर प्रहरी प्रमुख वीरबहादुर थापाले नगरपालिकाले पूर्वसूचना तथा समयसीमा दिएरै अतिक्रमण हटाउने प्रक्रिया अघिबढाएको बताउनुभयो । उहाँले वैशाख १६ गते नै १० दिने अल्टिमेटम जारी गरेर अतिक्रमित क्षेत्र खाली गर्न अनुरोध गरिएको थियो । अधिकांश नागरिकले आफैँ सरसामान सार्ने काम गरिरहनुभएको छ । हामीले पूर्ण रुपमा खाली गरिएका संरचना मात्र हटाएका हौँ भन्नुभयो । नगर प्रहरी प्रमुख थापाका अनुसार स्थानीय प्रशासन, जनप्रतिनिधि, नगर प्रहरी र सुरक्षाकर्मीको उपस्थितिमा उक्त अभियान सञ्चालन गरिएको हो ।
नगरपालिकाले विस्थापित परिवारका लागि अस्थायी बसोबासको व्यवस्था गर्दै ‘होल्डिङ सेन्टर’ सञ्चालनमा ल्याएको छ । नगरपालिकाका अनुसार शनिबार ७३ घरधुरीले होल्डिङ सेन्टरमा बस्नका लागि फाराम भरेका थिए । हाल ५४ परिवारका २०८ जना होल्डिङ सेन्टरमा बसिरहेका नगरपालिकाले जनाएको छ । नगर प्रहरी प्रमुख थापाले वास्तविक भूमिहीन र सुकुमवासीको पहिचान प्रक्रिया पनि सँगसँगै अगाडि बढाइएको जानकारी दिनुभएको छ ।