काठमाडौं,३०वैशाख । सुकुमबासीहरुले भोलि ५ घण्टा देशभर चक्काजामगर्ने भएका छन् । अखिल नेपाल सुकुमबासी संघले भोलि बिहीबार पूर्वपश्चिम राजमार्ग ५ घण्टा चक्काजाम गर्ने घोषणा गरेको हो । आज काठमाडौंको संवाद डबलीमा एक पत्रकार सम्मेलनगर्दै संघले भोली वैशाख ३१ गते बिहान ५ देखि १० बजेसम्म राजमार्ग चक्काजामगर्ने घोषणा गरेको हो । सो संघका इन्चार्ज नहेन्द्र खड्काले आन्दोलन देशभरका सुकुमवासीको अधिकारसँग जोडिएको भन्दै सहयोगका लागि सबैलाई अपिल गर्नुभएको छ । उहाँले चक्काजामलाई कुनै पार्टी वा संगठन विशेषको नभई सुकुमबासी समुदायको अधिकारका लागि गरिएको आन्दोलनकारुपमा लिन आग्रह गर्नुभएको छ ।

उहाँले पत्रकार सम्मेलनमा चक्काजामले देशभरका सुकुमबासीको एकताको सन्देश दिन जरुरी रहेको बताउनु भएको थियो । संघका अध्यक्ष अमर परियारले पनि चक्काजामलाई सहयोगगर्न आग्रहगर्दै सुकुमबासीहरुका लागि जमिन व्यवस्थापनको माग गर्नुभएको छ । संयुक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीले सरकारले नागरिकको आवास अधिकारसम्बन्धी संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको आरोप लगाउनुभएको छ ।

उहाँले प्रधानमन्त्री वालेन्द्र शाहप्रति आक्रोश व्यक्तगर्दै उनलाई तानाशाह प्रवृत्तिको भएको आरोप लगाउनु भएको थियो । नेपाली कांग्रेस निकट नेपाल सुकुमबासी तथा अव्यवस्थित बसोबासी संघका अध्यक्ष राजकुमार पाण्डेले आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै ७७ वटै जिल्लामा संघर्षमा उत्रिन आह्वान गर्नुभएको थियो । जसपा निकट सुकुमबासी संघका अध्यक्ष तथा संयुक्त सुकुमबासी मोर्चाका महासचिव अर्जुन कुँवरले पनि चक्काजाममा समर्थन जनाउँदै डोजर अभियानविरुद्ध आपत्ति जनाउनुभएको छ । भोलि बिहीबार माइतीघर मण्डलामा समेत संयुक्त प्रदर्शन हुने बताइएको छ ।