
काठमाडौं, ३० वैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशीहरुले नेपालका सत्तारुढ दललाई खेलाइरहेको खुलाशा गर्नुभएको छ । राजमो दाङको आयोजनामा घोराहीस्थित पत्रकार महासंघको सभाहलमा हिजो आयोजित ‘वर्तमान राजनीतिक अवस्था र संविधान संशोधन’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै उहाँले उपरोक्त कुरा बताउनु भएको हो । अध्यक्ष केसीले नेपाललाई सधैँ शक्तिराष्ट्रले खेलाइरहने गरेका छन् । पार्टीलाई किनेर, सत्तामा लगेर र दबाब दिएर उनीहरुबाट आफ्नो स्वार्थ पूरा गरिरहने गरेका छन् भन्नुभएको थियो । उहाँले सोही कारणले नेपाल अहिलेसम्म पनि अर्धऔपनिवेशिक र अर्धसामन्ती देशकारुपमा रहेको बताउनु भएको थियो । उहाँले अहिले प्रत्यक्ष रुपमा अमेरिकाले आफ्नोअनुकूलको सरकार बनाएर उपयोग गरिरहेको छ । त्यसैले अब साम्राज्यवादी खतरा नेपालमा झन् झन् बढ्दै गइरहेको छ भन्नुभएको थियो ।
अमेरिकाले नेपालमा प्रत्यक्ष रुपमै घन्टीपार्टी स्थापना गरेर आफ्ना स्वार्थ पूरागर्ने काम गरेको हुनाले देश अत्यन्तै संकटग्रस्त अवस्थामा पुगेको उहाँको भनाइ थियो । अध्यक्ष केसीले देशलाई जोगाउन जनताले नै पहल गर्नुपर्छ । त्यसको लागि हामी सबै सचेत हुनुपर्छ भन्नुभएको थियो । संविधान संशोधनको प्रश्नमा उहाँले गणतन्त्र र राष्ट्रियताको विषयमा कुनै संशोधन हुननसक्ने तर संघीयताको खारेजी लागिभने आफ्नो पार्टीले लगातार आवाज उठाउँदै आइरहेको जानकारी दिनुभएको थियो । अहिलेको संविधान संशोधन बहसपत्रमा पनि राजमोले संघीयता खारेजीलगायतका विषय उठान गरेको बताउनुभएको थियो । अध्यक्ष केसीले सुकुम्बासी बस्तीमा सरकारले चलाएको डोजर आतंकको कडा शब्दमा विरोध गर्नुभएको थियो । उहाँले छानबिन, प्रमाणीकरण र व्यवस्थापनपछि मात्रै सुकुम्बासी बस्ती हटाउन सकिने विकल्प प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता गरिरहनुभएका राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले पार्टीको तर्फबाट अवधारणापत्र वाचन गर्नुभएको थियो । अवधारणापत्रमाथि मन्तव्य राख्दै नेपाली कांग्रेसका गिरिराज सुवेदी, एमालेका शम्भु गौतम, नेपाली कम्युनिष्ट पार्टीका विश्वराज आचार्य, नेकपा (माओवादी) का सबिन पोखरेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, नागरिक समाज दाङका सचिव नारायण श्रेष्ठलगायतले टिप्पणी गर्नुभएको थियो ।