काठमाडौं, ३० वैशाख । कास्कीको पोखरामा सञ्चालित आयुर्वेद अस्पताल÷क्लिनिकमा गैरकानूनी तथा गुणस्तरहीन औषधि निर्वाध रुपमा बिक्रीवितरण भइरहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको नेतृत्वमा हिजो गरिएको अनुगमनका क्रममा पोखरा महानगरपालिका–१० बुद्धचोक क्षेत्रमा रहेका आयुर्वेद अस्पताल र क्लिनिकमा त्यस्ता औषधि छ्याप्छ्याप्ती भेटिएका हुन् । औषधि व्यवस्था विभागबाट स्वीकृत नलिएका र म्याद गुज्रेका औषधि बरामद गरी नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

उहाँले अधिकांश अस्पताल र क्लिनिकमा गैरकानूनी औषधि बिक्रीवितरण भइरहेको पाइएको छ। आयुर्वेद उपचारका नाममा विकृति मौलाउँदै गएपछि अनुगमनमा कडाइ गरिएको हो, गलत गर्नेलाई कानुनअनुसार कारवाही हुन्छ भन्नुभयो । अनुगमनका क्रममा तोकिएको मापदण्ड पूरा नगरेका, दर्ता नवीकरण नभएका, दररेट नराखेका, चिकित्सक र स्वास्थ्यकर्मीलाई नियुक्तिपत्र नदिई काममा लगाएका अस्पताल तथा क्लिनिकलाई आवश्यक कागजपत्रसहित आज बुधबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन भनिएको सहायक प्रजिअ बरालले बताउनुभयो ।

सञ्चालन अनुमतिपत्र नदेखिएपछि फेमिली आयुर्वेदिक क्लिनिकलाई बन्द गराई आवश्यक प्रक्रिया पूरागरी अनुमतिपत्र लिन सचेत गराइएको उहाँको भनाइ छ । अनुगमन टोलीमा रहनुभएका गण्डकी आयुर्वेद अस्पतालका चिकित्सक विपिनबन्धु आचार्यले औषधि व्यवस्था विभागबाट अनुमति नलिई उत्पादन गरिएका कुनै पनि औषधि बेच्न नपाइने बताउनुभयो । उहाँले कानूनी मान्यता नपाएका र गुणस्तरहीन आयुर्वेद औषधि बजारमा भित्रने गरेको छ, औषधि किन्ने बेलामा अस्पताल स्वयं सचेत हुनुपर्छ । औषधि व्यवस्था विभागमा दर्ता छ÷छैन निश्चित गरेरमात्र औषधि खरिद गर्नुपर्छ भन्नुभयो । क्लिनिक र फार्मेसीहरुमा आयुर्वेद विषयको ज्ञान नै नभएका व्यक्तिले औषधि बिक्रीगर्ने गरेकोसमेत पाइएको चिकित्सक आचार्यले बताउनुभयो । पोखरामा हेल्दी होम्सका कविराज अस्मिना बञ्जराले अनुमति नलिई आयुर्वेद औषधि उत्पादन र बिक्रीवितरणगर्ने कम्पनीलाई राज्यले कारवाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो । उहाँले कतिपय कम्पनीले औषधि व्यवस्था विभागमा दर्ता छभनेर झक्याउन सक्छन्, अबदेखि अस्पताल र क्लिनिकहरु यसमा सचेत हुनुपर्छ भन्नुभयो ।

धेरैजसो आयुर्वेद अस्पताल र क्लिनिक पोखरा–१० बुद्धचोक, अमरसिंहचोकलगायत क्षेत्रमा सञ्चालित छन् । अस्पताल भनेर सञ्चालन गरे पनि कतिपयमा अस्पतालको न्यूनतम पूर्वाधार पनि नरहेको पाइएको अनुगमनमा सहभागी उपभोक्ता मञ्च कास्कीका सचिव कमल पौडेलले बताउनुभयो । अनुगमनलाई थप कड्याइगर्दै दोषी भेटिएका जोकोहीलाई कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने उहाँको भनाइ छ । यस्तै मापदण्डविपरीत अनावश्यक रुपमा होर्डिङ बोर्ड राखेका क्लिनिकलाई त्यस्ता बोर्ड तत्काल हटाउन भनिएको जिल्ला प्रशाससन कार्यालयले जनाएको छ । बुद्धचोकको नेचर केयर आयुर्वेद अस्पताल, साधना आयुर्वेद क्लिनिक, आरोग्य होमियो फार्मेसी, आरोग्य होमियोप्याथिक अस्पताल, पञ्चम आयुर्वेद, पोखरा हेल्दी होम्स, रश्मी आयुर्वेद क्लिनिक र फेमिली आयुर्वेदिक क्लिनिकको अनुगमन गरिएको थियो ।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, पोखरा महानगरपालिका, गण्डकी आयुर्वेद अस्पताल, प्रोदशिक जनस्वास्थ्य केन्द्र, वडा प्रहरी कार्यालय बैदाम, उपभोक्ता मञ्चका प्रतिनिधिलगायत सञ्चारकर्मीको सहभागिता रहेको थियो । रासस