काठमाडौं, ३० वैशाख । आज क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा(बहुमत) लगायतका बिभिन्न चारवटा कम्युनिष्ट पार्टीद्वारा बर्तमान सरकार बिरुद्ध उपत्यका लगायत देशव्यापी प्रदर्शन हुँदैछ । उक्त चार पार्टीको केन्द्रीय संयुक्त संघर्ष समितिले सरकारद्वारा सुकुम्बासीमाथि गरिएको दमन, राष्ट्रिय स्वाधीनतासम्बन्धी विषय तथा महँगी नियन्त्रणमा असफल भएकोभन्दै कडा विरोध जनाएको छ । समितिका संयोजक धर्मेन्द्र बास्तोलाले एक प्रेस वक्तव्य जारीगर्दै सरकारका विभिन्न गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
वक्तव्यमा काठमाडौंका विभिन्न स्थानमा सुकुम्बासीमाथि गरिएको बल प्रयोग, उचित वैकल्पिक बसोबासको व्यवस्था नगरी गरिएको उठीबास तथा राज्य आतंकको शैलीको दमनको निन्दा गरिएको छ । समितिले सुकुम्बासीलाई तत्काल उचित बसोबासको व्यवस्थागर्न, बालबालिकाको पढाइ सुनिश्चितगर्न तथा क्षतिपूर्तिको व्यवस्थागर्न सरकारसँग माग गरेको छ । त्यसैगरी समितिले एमसीसी सम्झौता कार्यान्वयन प्रक्रिया तत्काल रोक्न र खारेजगर्न माग गरेको छ ।
राष्ट्रिय स्वाधीनतामाथि खतरा बढेको दाबीगर्दै सरकारले विदेशी शक्तिको प्रभावमा काम गरेको आरोप पनि वक्तव्यमा लगाइएको छ । समितिले लिपुलेक पासहुँदै भारतले मानसरोवर यात्रा सञ्चालन गर्न थालेको विषयलाई नेपालको सार्वभौमिकतामाथिको आघात भएको जनाएको छ । भारत र चीनबीचको सहमतिमा भएको उक्त कदमप्रति नेपाली जनतामा असन्तुष्टि रहेको उल्लेखगर्दै सरकारले कूटनीतिक पहल गर्नुपर्ने माग गरिएको छ । वक्तव्यमा बढ्दो महँगी नियन्त्रणगर्न प्रभावकारी रणनीति ल्याउन सरकारलाई आग्रह गरिएको छ ।