नयाँदिल्ली, २ जेठ । इरानका विदेशमन्त्री अब्बास अराघचीले शुक्रबार मध्यपूर्वमा द्वन्द समाधानगर्न चीनलगायत कुनैपनि सहयोगका लागि आफू तयाररहेको बताउनुभएको छ । विशेषगरी चीनले मध्यपूर्व युद्धमा मध्यस्थता गर्न चाहेमा के यो इरानका लागि स्वीकार्य छभनी सोधिएको प्रश्नमा ब्रिक्स समूहका राष्ट्रहरुको बैठकका अवसरमा नयाँदिल्लीमा पत्रकारहरुसँगको संवादमा उहाँले हामी सहयोगगर्ने हैसियत भएका कुनै पनि देशकोे सहयोगलाई स्वागत गर्छौं भन्नुभयो ।
वार्ता जारी राख्न अमेरिका इच्छुक रहेको सन्देश वाशिंटनबाट प्राप्तभएको पनि विदेशमन्त्री अराघचीले बताउनुभएको छ । उहाँले हामीले उनीहरु वार्तालाई निरन्तरता दिन इच्छुक छन् भन्ने सन्देश अमेरिकी अधिकारीहरुबाट फेरि प्राप्त गरेका छौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सी जिनपिङले ‘स्ट्रेट अफ हर्मुज’ पुनः खोल्न चीनले सहयोगगर्ने प्रस्ताव गरेको र चिनियाँ नेताले अमेरिका र इजरायलविरुद्धको युद्धमा इरानलाई सहयोग गर्न सैन्य उपकरण नपठाउने प्रतिबद्धता व्यक्त गरेको बताएको एक दिनपछि अराघचीले उक्त कुरा बताउनुभएको हो ।
उहाँले चीनसँग हाम्रो धेरै राम्रो सम्बन्ध छ, हामी एक अर्काका रणनीतिक साझेदार हौँ र हामीलाई थाहा छ कि चिनियाँहरुको मनसाय राम्रो छ, त्यसैले उनीहरुले कूटनीतिमा सहयोग पुर्याउन सक्ने कुनै पनि कुरालाई इस्लामिक गणतन्त्रले स्वागत गर्नेछ । इरान र अमेरिकाबीचको तनाव कम गर्न अहिलेसम्म पाकिस्तान मध्यस्थकर्ता रहँदैआएको छ भन्नुभयो । उहाँले पाकिस्तानको मध्यस्थता प्रक्रिया अझै असफल भएको छैन, तर मुख्यतः अमेरिकीहरुको व्यवहार र हामीबीच रहेको अविश्वासको कारण यो धेरै कठीन मार्गमा छ भन्नुभयो । रासस,एएफपी