काठमाडौं,२ जेठ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले नेपाली जनता सचेत नभए देश युद्धमा फस्नसक्ने बताउनु भएको छ । सो मोर्चाको जिल्ला समिति कपिलवस्तुको आयोजनामा हिजो भएको तत्कालीक राजनीतिक परिस्थितिबारे एकदिने प्रशिक्षण कार्यक्रममा बोल्दै भट्टले उपरोक्त कुरा बताउनु भएको हो । सो जिल्लाको गोरुसिंगेमा आयोजित कार्यक्रममा उहाँले साम्राज्यवादी शक्तिहरुले आफ्नो निहित स्वार्थका लागि नेपाललाई युद्धमा धकेल्ने कोशिस गरिरहेको खुलाशा पनि गर्नुभएको थियो ।

नेता भट्टले नेपालमा अमेरिकी चलखेल बढ्दैगएको, अमेरिकी सेना र नेपाली सेनाबीच ‘पार्टनरसिप प्रोग्राम’का नाममा अमेरिकी सेनाको प्रवेश भइरहेको तथा दलाई लामा र टीओबी समूह नेपालमा सक्रिय भएको बताउँदै तिब्बतलाई टुक््रयाउने अमेरिकाको लक्ष्यअनुसार वर्तमान सरकारले काम गरिरहेको आरोप पनि लगाउनुभएको थियो । सोही कार्यक्रममा प्रशिक्षणदिँदै पार्टीका केन्द्रीय सदस्य राजेन्द्र ढुंगानाले आफूहरुको राष्ट्रियता र गणतन्त्रको रक्षा तथा संघीयता खारेजको मुद्धा कायम रहेको बताउनुभएको थियो ।

ढुंगानाले गणतन्त्र र ०७२ सालको संविधानको रक्षागर्न गणतन्त्रवादी तथा संविधान पक्षधर शक्तिहरु एक नभए प्रतिगमन हुनसक्ने दाबी गर्नुभएको थियो । उहाँले वर्तमान राजनीतिक परिस्थिति, जेनजी आन्दोलन, कार्की आयोग, सरकारका अध्यादेश तथा निरंकुश कदमबारे पनि टिप्पणी गर्नुभएको थियो । जिल्लाको समग्र राजनीतिक अवस्था, निर्वाचन तथा मत परिणामबारे नेपाल कम्युनिष्ट पार्टी (मसाल) का जिल्ला प्रवक्ता माधव भाट क्षेत्रीले जानकारी दिनुभएको थियो । कार्यक्रममा राजमो तथा बिभिन्न जनवर्गीय संगठनका नेता–कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।