
काठमाडौं,२ जेठ । नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष ०८२÷८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिकगर्दै लचिलो कार्यदिशा, बाह्य क्षेत्र बलियो रहेको दाबि गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको शुरुवातदेखि नै अवलम्बनगर्दै आएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई यस समीक्षामा पनि निरन्तरता दिएको छ । विदेशी विनिमय सञ्चिति र मुद्रास्फीति लक्ष्यअनुरुपनै रहने प्रक्षेपणका साथै मुलुकको न्यून आर्थिक वृद्धिको स्थितिलाई दृष्टिगतगर्दै बैंकले पुरानै कार्यदिशालाई कायम राखेको हो। यसैगरी राष्ट्र बैंकले विद्यमान नीतिगत दरहरुमा कुनै परिवर्तन गरेको छैन। ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थाहरुलाई यथावत् राखिएको छ भने ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराइने स्थायी निक्षेप सुविधाको व्यवस्थालाई भने पुनरवलोकन गरिने प्रतिवेदनमा उल्लेख छ ।
समीक्षा अवधिमा मुलुकको मूल्यवृद्धि वाञ्छित सीमाभित्रै रहेको पाइएको छ । आर्थिक वर्ष ०८२÷८३ को पहिलो नौ महिनामा औसत उपभोक्ता मुद्रास्फीति २ दशमलव ३९ प्रतिशत रहेको छ, जुन ५ प्रतिशतभित्र सीमित राख्ने राष्ट्र बैंकको लक्ष्यभित्रै पर्दछ । यद्यपि ०८२ सालको चैत महिनामा भने वार्षिक बिन्दुगत मुद्रास्फीति ४.४७ प्रतिशत पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयको प्रारम्भिक अनुमानलाई उद्धृतगर्दै राष्ट्र बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने जनाएको छ । यसअन्तर्गत कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशत, उद्योग क्षेत्रको १.६७ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ४.२१ प्रतिशत कायम हुने अनुमान गरिएको छ। पछिल्लो समय अर्थतन्त्रको बाह्य क्षेत्र निकै सहज र मजबुत स्थितिमा देखिएको छ । चालु आर्थिक वर्षको नौ महिनामा विप्रेषण आप्रवाहमा ३९.१ प्रतिशतको उच्च वृद्धिभई १६ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ।
रेमिट्यान्समा आएको यही उछालका कारण चालु खाता ६ खर्ब १८ अर्ब ६८ करोड रुपैयाँले र शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्ब १६ करोड रुपैयाँले बचतमा रहेको छ। फलस्वरुप मुलुकको विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च बिन्दु अर्थात् ३४ खर्ब ९४ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। यो सञ्चितिले १८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्रबैंकको दाबी छ । अर्कातर्फ यस अवधिमा कुल वस्तु निर्यात १८ दशमलव ५ प्रतिशतले र आयात १३.८ प्रतिशतले वृद्धिहुँदा कुल वस्तु व्यापार घाटा १३ प्रतिशतले बढेर १२ खर्ब ६७ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । बैंकिङ प्रणालीमा न्यून ब्याजदरसहित लगानीयोग्य तरलता पर्याप्त रहेको समीक्षाले देखाएको छ ।
गत चैत महिनामा निक्षेपको भारित औसत ब्याजदर वाणिज्य बैंकहरुको ३.४० प्रतिशत, विकास बैंकहरुको ३.७७ प्रतिशत र वित्त कम्पनीहरुको ४.७४ प्रतिशत कायम भएको छ । कर्जा प्रवाहको लागत घट्दा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर पनि ६.७७ प्रतिशतमा झरेको छ । यो नौ महिनाको अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशतले वृद्धिभएको छ । तरलताको स्थिति लगातार लामो समयसम्म अधिकरहँदा त्यसले बिभिन्न समष्टिगत आर्थिक परिसूचकमा पर्नसक्ने सम्भावित प्रभावप्रति केन्द्रीय बैंक सजग रहेकोसमेत समीक्षामा उल्लेख गरिएको छ । रासस