
सियोल, ५ जेठ । उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियासँग जोडिएको सीमाक्षेत्रलाई थप सुदृढ बनाउँदै ‘अभेद्य किल्ला’ मा रुपान्तरणगर्न सेना नेतृत्वलाई निर्देशन दिनुभएको छ । युक्रेन युद्ध र मध्यपूर्वमा देखिएका आधुनिक युद्ध रणनीतिबाट प्रभावित उत्तर कोरियाले अब सीमाक्षेत्रको सुरक्षा संरचनालाई नयाँ ढंगले पुनर्गठनगर्ने संकेत दिएको विश्लेषकहरुले बताएका छन् । आइतबार आयोजित उच्चस्तरीय सैन्य बैठकमा किमले अग्रपङ्क्तिका सैनिक एकाइहरुलाई बलियो बनाउने तथा युद्ध रोकथामका लागि सैन्य तयारीमा ‘ठूलो परिवर्तन’ आवश्यक रहेको बताउनुभयो । सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले सार्वजनिक गरेका तस्बिरहरुमा किम पूर्ण सैनिक पोशाकमा उच्च सैन्य अधिकारीहरुको बैठकको अध्यक्षता गरिरहेको देखिएको छ । बैठकमा किमले कमान्डरहरुलाई ‘कट्टर शत्रु’ विरुद्धको दृष्टिकोण अझ कडा बनाउनुपर्ने बताउनुभएको थियो । यद्यपि समाचारमा कुनै देशको नाम उल्लेख नगरिए पनि यसलाई स्पष्ट रुपमा दक्षिण कोरियातर्फ लक्षित सन्देशकारुपमा हेरिएको छ ।
केसीएनएका अनुसार किमले ‘युद्धलाई अझ प्रभावकारी रुपमा रोक्न’ अग्रपङ्क्तिका एकाइहरु तथा सैन्य–प्राविधिक पक्षसँग सम्बन्धित अन्य प्रमुख संरचनाहरुलाई थप सशक्त बनाउने योजनालाई महत्त्वपूर्ण निर्णयका रुपमा प्रस्तुत गर्नुभएको थियो । उहाँले दक्षिणी सीमाक्षेत्रमा तैनाथ सैनिक संरचनालाई पुनर्गठनगर्दै सीमारेखालाई ‘अभेद्य किल्ला’ मा बदल्ने सत्तारुढ दलको नीतिबारे पनि चर्चा गर्नुभएको बताइएको छ । किमले आधुनिक युद्धको स्वरुप परिवर्तन भइरहेकाले सेनाको सञ्चालन अवधारणालाई सबै क्षेत्रमा पुनर्परिभाषित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँका अनुसार सैन्य आधुनिकीकरणका परियोजनाहरु अब केवल स्थल, जल र हवाई शक्तिमा सीमित नरही नयाँ प्रकारका युद्धक्षेत्रलाई समेत समेट्ने गरी अघि बढाइनुपर्नेछ । विश्लेषकहरुले यसलाई उत्तर कोरियाले युक्रेनविरुद्धको रुसी युद्धबाट सिकेका अनुभवसँग जोडेर हेरेका छन् । दक्षिण कोरियासँगको सम्बन्ध सुधारका लागि सियोलले पटक–पटक वार्ताको प्रस्ताव राखिरहे पनि प्योङयाङले त्यसप्रति कुनै सकारात्मक प्रतिक्रिया नदिइरहेको अवस्थामा यस्तो सैन्य बैठक आयोजना गरिएको हो । कोरिया राष्ट्रिय एकीकरण संस्थानका वरिष्ठ विश्लेषक होङ मिनका अनुसार किमका पछिल्ला निर्देशनहरुले आधुनिक युद्धको बदलिँदो स्वरुपबारे उत्तर कोरियाको बढ्दो चासो झल्काउँछन् ।
उहाँले युक्रेन युद्ध तथा मध्यपूर्वी द्वन्दमा प्रयोग भएका ड्रोन आक्रमण, सटीक प्रहार, बिद्युतीय युद्ध र बहुआयामिक युद्धक्षेत्रको प्रभाव उत्तर कोरियाली सैन्य रणनीतिमा प्रत्यक्ष देखिन थालेको बताउनुभयो । होङ मिनका अनुसार किमले अघि सारेको अवधारणाले स्थल, समुद्र र आकाशमा सीमित परम्परागत युद्ध रणनीतिभन्दा बाहिर गएर पानीमुनिको गतिविधि, अन्तरिक्ष, बिद्युतीय प्रणाली तथा साइबर क्षेत्रलाईसमेत समेट्ने बहुआयामिक सैन्य संरचनाको संकेत गर्छ । यो बैठक त्यही दिन भएको थियो, जुन दिन उत्तर कोरियाको महिला फुटबल टोली आठ वर्षपछि पहिलो पटक दक्षिण कोरियामा पुगेको थियो । खेलकुद आदानप्रदानमार्फत दुई देशबीचको चिसिएको सम्बन्ध केही सहज बन्न सक्ने अपेक्षा गरिएका बेला प्योङयाङको यो सैन्य सन्देशले भने सीमाक्षेत्रमा तनाव अझ बढ्नसक्ने संकेत दिएको विश्लेषण गरिएको छ । रासस,एएफपी