काठमाडौं, ५ जेठ । आजै प्रस्तावित प्रधानन्यायाधीशको नियुक्तिबारे टुंगो लगाएने प्रयास भैरहेको थाहा भएको छ । सर्बोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध परेको १६ वटा उजुरीमाथि छलफलगर्दै संसदीय सुनुवाइ प्रक्रिया आज मंगलबारनै अघि बढाइने भएको हो । प्रधानन्यायाधीशमा सिफारिस भएका शर्माविरुद्ध परेको उजुरी खोल्नका लागि संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ८ बजे बोलाइएको छ । यसअघि गत वैशाख २६ गते बसेको समितिको बैठकले १० दिनको समयसीमा दिएर उजुरी आह्वान गरेको थियो ।

निर्धारित अवधिभित्र १६ वटा उजुरी दर्ता भएका थिए । संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार प्रारम्भमा उजुरी खोल्ने र त्यसलाई सांसदहरुबीच वितरण गर्ने कार्य हुनेछ। त्यसपछि बिहान १० बजेतिर उजुरीकर्तासँग छलफल गरिने तयारी छ । सभापति श्रेष्ठले त्यसपछिको बैठक निरन्तर चल्ने र सोही क्रममा प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभएको छ ।