काठमाडौं, ५ जेठ । नेपाल विश्व स्वास्थ्य संगठनको ७९ औँ विश्व स्वास्थ्य महासभाको उपाध्यक्षमा निर्वाचित भएको छ । स्विट्जरल्यान्डको जेनेभामा भइरहेको महासभाको उपाध्यक्षमा नेपाल सर्वसम्मत रुपमा निर्वाचित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँकाअनुसार जेनेभास्थित पाले डे नेसन्समा आज आयोजित महासभाको उद्घाटन सत्रमा यो ऐतिहासिक निर्वाचन भएको हो ।
महासभाको सोही सत्रमा नेपालका तर्फबाट स्वास्थ्यमन्त्री निशा मेहताले सम्बोधनगर्ने कार्यक्रम रहेको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिनुभएको छ । स्वास्थ्यमन्त्रीको नेतृत्वमा गत आइतबार नेपाली प्रतिनिधिमण्डल जेनेभा गएको थियो । रासस