बेइजिङ,५ जेठ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज बेइजिङ पुग्नुहुँदा उहाँको भब्य स्वागत गरिएको छ । युक्रेन युद्ध, ऊर्जा राजनीति, अमेरिका–चीन सम्बन्ध र मध्यपूर्वको तनावबीच भएको यो भेटवार्तालाई विश्व शक्ति सन्तुलनसँग जोडेर हेरिएको छ । राष्ट्रपति पुटिन आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय वार्ताका लागि बेइजिङ पुग्नुभएको हो । क्रेमलिनकाअनुसार दुवै नेताले रुस–चीन रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दामा समन्वय बढाउने र बदलिँदो विश्व व्यवस्थामा साझा धारणा निर्माणगर्ने विषयमा भोली बुधबार विस्तृत छलफलगर्ने कार्यक्रम छ । यो भ्रमण विशेष अर्थमा महत्वपूर्ण मानिएको छ । सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमी मुलुकहरुले मस्कोलाई कूटनीतिक र आर्थिक रुपमा अलग्याउने प्रयास गरेका थिए । त्यसयता रुस चीनमा अझ निर्भर बन्दैगएको छ । विशेषगरी चिनियाँ बजार अहिले रुसी तेलको प्रमुख गन्तव्य बनेको छ भने पश्चिमी प्रतिबन्धका कारण मस्कोले आर्थिक सहाराका लागि बेइजिङमाथि निर्भरता बढाएको छ । भ्रमणअघि नै दुवै नेताले आफ्नो रणनीतिक साझेदारीको ३० वर्ष पूरा भएको अवसरमा शुभकामना सन्देश आदानप्रदान गरेर सम्बन्धको घनिष्ठता प्रदर्शन गर्नुभएको थियो । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति सीले रुस–चीन सहकार्य निरन्तर गहिरिँदै गएको उल्लेख गर्नुभएको थियो । त्यसैगरी पुटिनले आज चिनियाँ जनताका नाममा जारी गर्नुभएको भिडियो सन्देशमा रुस–चीन सम्बन्ध ‘अभूतपूर्व उचाइमा’ पुगेको बताउनुभयो ।
उहाँले दुई देशबीचको व्यापार तीव्र रुपमा बढिरहेको उल्लेखगर्दै दुवै राष्ट्रले कसैको विरुद्धमा गठबन्धन नगरी विश्व शान्ति र साझा समृद्धिको पक्षमा काम गरिरहेको दाबी गर्नुभएको छ । पुटिनले आफ्नो सम्बोधनमा कुनै तेस्रो देशको नाम नलिए पनि उहाँको अभिव्यक्तिलाई अमेरिका लक्षित सन्देशका रुपमा हेरिएको छ । वार्तापछि दुवै नेताले संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ । गत सेप्टेम्बरमा बेइजिङ भ्रमणका क्रममा राष्ट्रपति सीले पुटिनलाई ‘पुरानो मित्र’ भन्दै विशेष स्वागत गर्नुभएको थियो । विश्लेषकहरुका अनुसार ट्रम्पको भ्रमणको तुलनामा पुटिनको भ्रमणमा कम सार्वजनिक तामझाम देखिए पनि चीन–रुस सम्बन्धलाई त्यस किसिमको प्रदर्शन आवश्यक नपर्ने अवस्था बनेको छ । वासिङ्टनस्थित ब्रुकिङ्स इन्ष्टिच्युुसनकी प्याट्रिसिया किमका अनुसार बेइजिङ र मस्कोले आफ्नो सम्बन्धलाई अमेरिका–चीन सम्बन्धभन्दा धेरै स्थिर र संरचनात्मकरुपमा बलियो मानेका छन् । उहाँका अनुसार दुवै देश अहिले साझा रणनीतिक हितका आधारमा नजिकिएका छन् । चीनले युक्रेन युद्ध सुरु भएयता निरन्तर वार्तामार्फत समाधानको पक्षमा आवाज उठाउँदै आएको छ ।
तर बेइजिङले रुसको सैन्य आक्रमणको खुला आलोचनाभने गरेको छैन । चीनले आफूलाई तटस्थ पक्षका रुपमा प्रस्तुत गर्दै आएको छ । गत साता ट्रम्प र सीबीच भएको वार्तामा युक्रेन युद्धको विषय पनि उठाइएको थियो । तर अमेरिकी राष्ट्रपति ठोस सहमति वा उपलब्धिविना नै चीनबाट फर्किनुभएको विश्लेषण गरिएको छ । प्याट्रिसिया किमका अनुसार राष्ट्रपति सीले ट्रम्पसँग भएको वार्ताबारे पुटिनलाई विस्तृत जानकारी दिने सम्भावना अत्यधिक छ । उहाँले ट्रम्प–सी भेटबाट स्पष्ट परिणाम ननिस्कनुले मस्कोलाई चीनले आफ्नो हितविरुद्ध कुनै समझदारी नगरेको आश्वासन मिलेको टिप्पणी गर्नुभयो । ऊर्जा सहकार्य पनि यसपटकको भेटवार्ताको केन्द्रमा रहने अनुमान गरिएको छ । ट्रम्पले हालै चीनले अमेरिकी तेल खरिदगर्न सहमति जनाएको दाबी गर्नुभएको थियो । त्यसपछि मस्कोले बेइजिङसँग ऊर्जा सम्बन्ध अझ बलियो बनाउन चाहेको विश्लेषण गरिएको छ । एशिया सोसाइटीका लाइल मोरिसका अनुसार रुस आफ्नो युद्ध प्रयासलाई निरन्तरता दिन चिनियाँ बजारमा निर्भर रहेकाले पुटिन चीनको समर्थन गुमाउन चाहनुहुन्न । उहाँका अनुसार पुटिन मध्यपूर्वको अवस्थाबारे चीनको आगामी रणनीति बुझ्न पनि इच्छुक हुनुहुनेछ । विशेषगरी अमेरिका–इजरायल र इरानबीचको तनावका विषयमा चीन र रुसको दृष्टिकोण केही फरक हुन सक्ने आकलन गरिएको छ ।
सिपुरस्थित नानयाङ टेक्नोलोजिकल युनिभर्सिटीका जेम्स चारका अनुसार चीन विश्व व्यापार र ऊर्जा आपूर्तिका लागि प्रमुख समुद्री मार्ग खुला रहोस् भन्ने चाहन्छ र हर्मुज जलघाँटीको तनाव चाँडै अन्त्य होस् भन्ने पक्षमा छ । तर मस्कोले भने इरानमाथिको द्वन्दका कारण विश्व बजारमा ऊर्जा मूल्य बढ्दा त्यसबाट आर्थिक लाभ लिइरहेको विश्लेषण गरिएको छ । पश्चिमी प्रतिबन्धका बाबजुद रुसी ऊर्जा निर्यातको माग बढेकाले रुस फरक रणनीतिक हिसाबमा रहेको बताइएको छ । गत अप्रिलमा राष्ट्रपति सीसँगको भेटपछि रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले विश्व आपूर्ति अस्थिर बनेको अवस्थामा रुसले चीनको ऊर्जा अभाव पूर्ति गर्न सक्ने बताउनुभएको थियो । एटलान्टिक काउन्सिलका जोसेफ वेबस्टरका अनुसार यसपटकको बैठकमा ऊर्जा सहकार्य प्रमुख एजेन्डाका रुपमा अघि आउने सम्भावना छ । उहाँले चीनले थप रुसी ऊर्जा खोजिरहेको र युक्रेनले रुसी ऊर्जा पूर्वाधारमाथि निरन्तर आक्रमण गरिरहेकाले मस्को पनि पूर्वतर्फ तेल निर्यात विस्तारगर्न इच्छुक रहेको बताउनुभयो । रासस, एएफपी