काठमाडौं,६ जेठ । पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट हिजो पहिलो पटक भारतको मध्यप्रदेशस्थित राजा भोज अन्तरराष्ट्रिय विमानस्थलमा मेडिकल रेस्क्यु उडान भएको छ । श्री एयरलाइन्सको जहाजले दिउसो ३ बजेर ९ मिनेटमा पोखराबाट भारतका लागि उडान भरेको पोखरा अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता जशोदा रेग्मी सुवेदीले जानकारी दिनुभयो । मुक्तिनाथ दर्शन गरेर फर्किने क्रममा बिरामी परेका मध्यप्रदेशस्थित भोपालका शम्भु दयाल श्रीवास्तवलाई मेडिकल चार्टरमार्फत पोखराबाट स्वदेश लगिएको हो ।

विमानमा एकजना बिरामी, तीन जना स्वास्थ्यकर्मी र दुईजना बिरामीका आफन्तगरी ६ जना रहेको पोखरा विमानस्थलले जनाएको छ । प्रवक्ता रेग्मीले पोखराबाट पहिलो पटक भारत सिधा उडान भएको छ । स्वदेशी विमान कम्पनीले छिमेकी मुलुक उडान गर्नु विमानस्थलका लागि राम्रोकुरा हो भन्नुभयो । पोखराको नागढुङ्गास्थित चरक मेमोरियल अस्पतालमा उपचार गराइरहनुभएका श्रीवास्तवलाई थप उपचारका लागि परिवारले जहाज चार्टर गरेर स्वदेश लगेका हुन् ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थल ०७९ पुस १७ गते अंग्रेजी नयाँवर्षको दिनदेखि शुभारम्भ गरिएका यहाँबाट नियमित अन्तरराष्ट्रिय उडान हुनसकेको छैन । विमानस्थल आन्तरिक उडानमै सीमित बनेको छ । पोखरा विमानस्थलबाट यसअघि भुटान, चीनलगायका देशमा चार्टर उडान हुने गरेपनि भारतमा पहिलो पटक उडान भएको हो । रासस