काठमाडौं,६ जेठ । नेपाल प्रहरीको नयाँ रणनीतिक योजना सार्बजनिक गरिएको छ । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले उक्त रणनीतिक योजना सार्बजनिक गर्दै नेपाल प्रहरीलाई आधुनिक, प्रविधिमैत्री, व्यवसायिक तथा जनमुखी संगठनकारुपमा विकासगर्न नेपाल प्रहरी रणनीतिक योजना ०८३–०८५ तयार गरिएको बताउनुभएको छ । काठमाडौंमा आयोजित नेपाली प्रहरी रणनीतिक योजना (०८३–०८५) सार्वजनिकीकरण, नागरिक सहायता तथा गुनासो व्यवस्थापन अनलाइन प्रणाली शुभारम्भ तथा प्रहरी वरिष्ठ नायब निरीक्षक श्रीहरि केसीको पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कार्कीले रणनीतिक योजना केवल परिवर्तन नभई ‘रुपान्तरण’ लक्षित रहेको बताए। उहाँले बदलिँदो समय, नागरिकका आकांक्षा, प्रविधिको तीव्र विकास र सुरक्षा चुनौतीलाई मध्यनजरगर्दै नेपाल प्रहरीलाई समयसापेक्ष र सक्षम संस्थाकारुपमा विकासगर्ने उद्देश्यले योजना ल्याइएको उल्लेख गर्नुभएको थियो । उहाँकाअनुसार नेपाल प्रहरी अब परम्परागत कार्यशैलीमा सीमित नरही आधुनिक प्रविधि, अनुसन्धान र डिजिटल प्रणालीमार्फत सेवा प्रवाह गर्ने दिशामा अघिबढिरहेको छ । उहाँले नेपाल प्रहरीको रणनीतिक योजना परिवर्तन मात्र होइन, रुपान्तरण लक्षित रहेको छ । यो ट्रान्सफर्मेसन मात्र होइन, यसको ओभरहलिङसम्मका विषय यसमा समेटिएका छन् भन्नुभयो ।

कार्कीले नेपाल प्रहरी नागरिकको जन्मदेखि मृत्युपर्यन्तका सामाजिक तथा कानूनी गतिविधिसँग प्रत्यक्ष जोडिएको संगठन भएकाले नागरिकको सबैभन्दा नजिकको राज्य संयन्त्रका रुपमा प्रहरीलाई अझ प्रभावकारी, उत्तरदायी र संवेदनशील बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले रणनीतिक योजना निर्माणअघि विभिन्न क्षेत्रका विज्ञ, कानूनीवद्, मानवअधिकारकर्मी, सञ्चारकर्मी तथा सरोकारवालासँग छलफलगरी नागरिकका अपेक्षा, सुझाव र अनुभवलाई योजनामा समेटिएको जानकारी दिनुभयो । प्रहरी संगठनलाई आगामी दिनमा कस्तो स्वरुपमा लैजाने भन्ने विषयमा व्यापक बहस र सम्मेलन आयोजना गरेर प्राप्त सुझावका आधारमा योजना तयार गरिएको उहाँको भनाइ थियो। प्रहरी महानिरीक्षक कार्कीले वर्तमान समयमा प्रविधिविना सुरक्षा संयन्त्र प्रभावकारी हुननसक्ने उल्लेखगर्दै एआई, डिजिटल प्रणाली, डेटा विश्लेषण, साइबर अनुसन्धान तथा आधुनिक फरेन्सिक प्रविधिको प्रयोग बढाइने बताए। उहाँले विश्वभर प्रयोग भइरहेका प्रविधिलाई नेपालको आवश्यकता र अवस्था अनुसार उपयोगगर्दै प्रहरी संगठनलाई आधुनिकीकरण गरिने बताउनु भयो ।

उहाँले अहिले संसारभर एआई तथा आधुनिक प्रविधिको प्रयोग भइरहेको छ । नेपाल प्रहरीलाई पनि नागरिकका अपेक्षा पूरागर्न प्रविधिमैत्री बनाउनु आवश्यक छ भन्नुभयो । उहाँकाअनुसार पछिल्लो समय वित्तीय अपराध, साइबर अपराध, संगठित अपराध तथा प्रविधिजन्य अपराधको चुनौती बढ्दैगएकाले त्यसअनुसार प्रहरीको अनुसन्धान क्षमता विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ । उहाँले मनि लाउन्डरिङ, वित्तीय कारोबारसम्बन्धी अपराध तथा डिजिटल अपराध अनुसन्धानका लागि विशेष दक्ष जनशक्ति तयार गरिने जानकारी दिए। कार्कीले डिजिटल फरेन्सिक युनिटमा रहेको ब्याकलग हटाउन नयाँ प्रविधि, आधुनिक सफ्टवेयर र दक्ष जनशक्ति परिचालन गरिने बताए। उहाँका अनुसार डिजिटल फरेन्सिक ढिलोहुँदा अदालतमा मुद्धा लम्बिने, पीडित र अनुसन्धान दुवै प्रभावित हुने भएकाले अनुसन्धान प्रक्रियालाई छिटो, प्रभावकारी र विश्वसनीय बनाइने छ ।

उहाँले वैज्ञानिक प्रयोगशालाको क्षमता वृद्धि, अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्तरोन्नति तथा प्रदेशस्तरसम्म विस्तार गर्ने योजना रहेको बताए। २०१८ सालमा स्थापना भएको विधि विज्ञान प्रयोगशालालाई वर्तमान आवश्यकताअनुसार विस्तार र आधुनिकीकरण गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो । प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरीको संरचनागत पुनरावलोकन गर्दै संगठनको विश्लेषण गरिने जानकारी दिए। संगठनका सबल पक्ष, कमजोरी, अवसर र चुनौतीको अध्ययनगरेर नयाँ कार्ययोजना बनाइने बताउनु भएको छ ।