काठमाडौं । सर्बोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आज पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै सर्वोच्च अदालत पुगेर उहाँले कार्यभार सम्हाल्नुभएको हो । शर्मा आजै संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशका लागि अनुमोदित हुनुभएको थियो । त्यसलगत्तै शीतल निवासमा राष्ट्रपतिले उहाँलाई शपथ ग्रहण गराउनुभएको थियो ।
न्यायपरिषद्ले बुझाएको छजनाको सूचीमध्ये सर्वोच्च अदालतको चौथो वरियताका न्यायाधीश शर्मालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। न्यायालयमा लामो समयदेखि चल्दैआएको वरिष्ठताको परम्परा र मर्यादालाई मिचेर शर्मालाई अघि सारिएपछि नेपाल बार एशोसिएशन लगायतका कानूनी क्षेत्रका संघसंस्थाहरुले यसको विरोध गरेका छन् । सरकारले संवैधानिक परिषद्सम्बन्धी ऐनलाई संशोधनगर्दै जारी गरेको नयाँ अध्यादेशका कारण यो नियुक्ति सम्भव भएको हो ।
उक्त अध्यादेशमार्फत छसदस्यीय संवैधानिक परिषद्मा प्रधानमन्त्रीसहित तीनजना मात्र सदस्य उपस्थित भएपनि निर्णयगर्न सक्ने खुकुलो प्रावधान राखिएको छ ।
