काठमाडौं,६ जेठ । चर्चित राजनीतिज्ञ तथा प्रगतिशील साहित्यकार मोहनविक्रम सिंहलाई गोकुल बाङ्मय पुरस्कार–०८२ प्रदान गरिने भएको छ । गण्डकी साहित्य संगम पोखराले उहाँलाई सो पुरस्कार यही जेठ नौगते गते प्रदानगर्ने भएको हो । साहित्य संगमका अनुसार समाजवादी यथार्थवाद र सामन्तवाद–साम्राज्यवाद विरोधी प्रगतिशील तथा देशभक्त साहित्यिक धारामा साधनागर्ने स्रष्टाद्रष्टालाई प्रेरणा, प्रोत्साहन एवम् सम्मानगर्न ०५२ सालदेखि राष्ट्रिय तहमा ४० हजार रुपियाँको ‘गोकुल बाङ्मय पुरस्कार’ र क्षेत्रीय तहमा २० हजार रुपियाँको ‘गण्डकी बाङ्मय पुरस्कार’ प्रदानगर्दै आएको छ । सो पुरस्कार प्रत्येक दुई वर्षमा एकपटक प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।
०८२ सालको ‘गोकुल बाङ्मय पुरस्कार’ का लागि प्रतिभा छनौट गर्न संगमका कार्यसमिति सदस्य शोभाकान्त गौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिमा संगमका सल्लाहकार डा. कृष्णराज अधिकारी र प्रगतिशील साहित्यकार डा. यदुनन्दन उपाध्यायसमेत तीनजना हुनुहुन्थ्यो । उक्त समितिले सर्वसम्मत सिफारिस गरेअनुरुप करिब छ दशकदेखि प्रगतिवादी साहित्यका फाँटमा निरन्तर साहित्य साधनागर्दै आएका स्रष्टा एवम् द्रष्टा मोहनविक्रम सिंहलाई ‘गोकुल वाङमय पुरस्कार’ प्रदानगर्ने निर्णय गरेको हो । उक्त पुरस्कार सन्तानब्बेऔँ गोकुल जयन्तीको अवसर पारेर पोखरामा आयोजित विशेष समारोहमा हस्तान्तरण गरिनेछ ।
१९९२ वैशाख ३ गते काठमाडौँको मरुटोलमा जन्मनुभएका मोहनविक्रम सिंहका प्युठानको किसान समस्या र संघर्ष (राजनीतिक पुस्तक, २०११), इन्क्लाव जिन्दावाद (कविता संग्रह, २०१७), युग बोल्छ (गीतिनाटक, २०३४), विश्व कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास (पुस्तक, २०३८), गंगाकावेरी एक्सप्रेस (लामो कविता, २०४०), झिमरुक नदी र चिबे चराको कथा (खण्डकाव्य, २०४२), विचार, विवेचना र विश्लेषण (समालोचना, २०४२), आदिविद्रोही (खण्डकाव्य, २०४२), १२ मे (नाटक, २०४६), महिला मुक्तिको महान गाथा (समालोचना, २०४८), कामरेड जलजला (उपन्यास, २०८१) लगायतका पुस्तक प्रकाशित छन् ।