
काठमाडौं,६ जेठ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिष्ट (जुरिसडिक्सन्स अण्डर इन्क्रिज्ड मोनिटरिङ) बाट बाहिर निकाल्न सरकारले सबै सम्भव उपाय अवलम्बन गर्ने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा अर्थ मन्त्रालयमा हिजो आयोजित एशिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी) अन्तर्गतको इन्टरनेसनल कोअपरेसन रिभ्यु ग्रुप (आइसिआरजी) कार्ययोजनासम्बन्धी छलफलमा उहाँले नेपाललाई ग्रे लिष्ट बाट बाहिर निकाल्न सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । एपिजीका प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री डा वाग्लेले सम्पूर्ण सामथ्र्य प्रयोग गरेर नेपाललाई ग्रे लिष्ट बाट मुक्त गरिने बताउनुभएको थियो । प्रधानमन्त्रीको नेतृत्वमा सरकारले सुशासन स्थापना गर्दै विकासलाई तीव्रता दिन प्रयास गरिरहेको उल्लेखगर्दै उहाँले जनमतको प्रमुख अपेक्षा सुशासन नै रहेको धारणा राख्नुभएको थियो ।
नयाँ सरकार गठनपछि सुशासनका क्षेत्रमा भएका काम जनताले प्रत्यक्ष अनुभूतिगर्न थालेको उहाँको भनाइ थियो । अर्थमन्त्री डा वाग्लेले ग्रे लिष्ट बाट बाहिरिन तत्काल र नियमित रुपमा गर्नुपर्ने कामहरु सम्बन्धित सरकारी निकायहरुले अघि बढाइरहेको तथा त्यसको निरन्तर मूल्यांकन भइरहेको जानकारी दिनुभएको थियो । पछिल्लो समीक्षा अवधिको तुलनामा ग्रेलिष्टसम्बन्धी सूचकमा नेपालको अवस्थामा सुधार आएको उहाँले बताउनुभएको थियो । कार्यक्रममा एपिजीका उपकार्यकारी सचिव डेभिड स्यान्ननले नेपालले ग्रे लिष्ट बाट बाहिरिन अझै पर्याप्त काम गर्न बाँकी रहेको टिप्पणी गर्नुभयो । छलफलमा अर्थमन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल राष्ट्र बैंकलगायत सम्बन्धित निकायका अधिकारीहरुको सहभागिता रहेको थियो ।