काठमाडौं,६ जेठ । नेपाली कांग्रेस औपचारिक रुपमा बिभाजित हुँदै छ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले काठमाडौंको अनामनगरमा हिजो सम्पर्क कार्यालय स्थापना गरेपछि उपरोक्त संकेत देखिएको हो । देउवाको राजनीतिक लिगेसीलाई निरन्तरतादिने उद्देश्यसहित समूह निकट नेताहरुले कार्यालय सञ्चालनमा ल्याएको बताइन्छ । नेताहरु गुरु बराल, जितजंग बस्नेत, जित शेरचन, कुन्दन काफ्ले र केदार कार्कीलगायतको सक्रियतामा सम्पर्क कार्यालय स्थापना गरिएको हो ।

सो समूहले आगामी १५औँ महाधिवेशनलाई लक्षितगर्दै संगठनात्मक गतिविधि तीव्र बनाउने तयारीस्वरुप कार्यालय खोलेको बताइएको छ । नेता गुरु बरालकाअनुसार १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने उद्देश्यले सम्पर्क कार्यालय स्थापना गरिएको हो । त्यसका लागि आवश्यक छलफल, समन्वय र तयारीगर्न सम्पर्क कार्यालय स्थापना गरिएको बताइन्छ । सो कार्यालयमा नेपाली कांग्रेसका ऐतिहासिक नेताहरु बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेरबहादुर देउवा तथा खुमबहादुर खड्काका तस्वीर लहरै राखिएको छ ।

गत बिशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति हुनु भएका गगन थापाले पद त्याग गरेर आगामी संयुक्त महाधिवेशनका लागि बिशेष समिति निर्माण नगरेमा नेपाली कांग्रेस दुईचिरा हुने भएको हो । गगन थापा समूह तथा संसदमा समेत देउवा पक्षको बहुमत रहेको छ ।