काठमाडौं,७ जेठ । केन्द्र सरकारको निर्णय स्थानीय सरकारले नमान्ने अवस्था सिर्जना भएको छ । यसैक्रममा केन्द्र सरकारले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई वीरगञ्ज महानगरपालिकाले हाजिर गर्नबाट रोको छ । नेपाल सरकार मन्त्रिपरिषद्को गत फागुन १२ गतेको निर्णयानुसार वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रेशमलाल कँडेललाई सरुवा गरिएको थियो । तर, वीरगञ्ज महानगरले प्रमुख प्रशासकीय अधिकृत कँडेललाई हाजिर गर्ने वातावरणभने तयार पारेको छैन । विगत १० दिनदेखि प्रमुख प्रशासकीय अधिकृत कँडेल वीरगञ्जमै हुनुहुन्छ । तर उहाँलाई महानगरपालिकाले हाजिरगर्नभने दिएको छैन । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले केन्द्र सरकारले गत फागुन १२ गते प्रमुख प्रशासकीय अधिकृत कँडेलको सरुवा गरेको भए पनि उहाँले वीरगञ्ज आउन ढिलाइ गर्नुभएको आरोप लगाउनुभएको छ ।

महानगर प्रमुख सिंहले उहाँ सरुवा हुनेबित्तिकै आउन चाहनुभएन् । अहिले उहाँ मन्त्रालयले ताकेता गरेपछिमात्रै आउन खोज्नुभएकाले पनि हाजिरी गराउन नखोजेका हौँ । हामीलाई उहाँभन्दा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिएमा राम्रो हुने थियो भन्दै आएका छौँ भन्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत कँडेललेभने आफू वीरगञ्जमै भएपनि महानगरको कार्यालयमा गएर हाजिरी गर्ने वातावरण नभएको जानकारी दिनुभएको छ । प्रमुख प्रशासकीय अधिकृत कँडेलले विगत १० दिनदेखि वीरगञ्जमै बस्दै आएको छु । अहिलेसम्म महानगरमा हाजिर गर्ने वातावरण बनेको छैन । म अहिले पनि हाजिर हुने प्रतीक्षामा जिल्ला प्रशासन कार्यालयमा आएर बसिरहेको छु भन्नुभयो ।

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले अहिलेको सरकारलेभन्दा पनि यसअघिको सरकारले प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गरेकाले हाजिर गराउने विषयमा वीरगञ्ज महानगरसँग समन्वय गरिरहेको बताउनुभएको छ । उहाँले मन्त्रालय र वीरगञ्ज महानगरबीच समन्वय भइरहेको छ । केही दिनभित्रै अहिले देखिएको समस्या समाधान हुने विश्वास लिएका छौँ भन्नुभएको छ । महानगर प्रमुख सिंहले प्रमुख प्रशासकीय अधिकृत नहुँदा यहाँको आर्थिक र प्रशासकीय काम रोकिएको दाबी गर्नुभयो । मन्त्रालयले गत वैशाख ४ गते यसअघिका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णसँग रहेको आर्थिक र प्रशासनिक जिम्मेवारी हटाएको थियो । उहाँ महानगरका शिक्षा महाशाखाका १०औँ तहका कर्मचारी हुनुहुन्छ । रासस