काठमाडौं,७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले नेपाल पाकिस्तानी मोडलको प्रजातन्त्रतर्फ जानलागेको खुलाशा गर्नुभएको छ । उहाँले रास्वपाको वर्तमान सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै नेपाल पाकिस्तानी मोडलको प्रजातन्त्रतर्फ उन्मुखभएको टिप्पणी गर्नुभएको छ । हिमालयन टेलिभिजनमा हिजो बुधबार प्रसारित एक अन्तर्वार्ताकाक्रममा सांसद सिंहले उपरोक्त खुलाशा गर्नुभएको हो । उहाँले संसदलाई छलेर अघि बढ्ने र विधिको शासनलाई बेवास्तागर्ने प्रवृत्तिका कारण नेपालको बिल्मान लोकतन्त्र जोखिममा परेको दाबी पनि गर्नुभएको थियो । उहाँले नेपालमा पुलिस स्टेट हाबी हुनखोजेकोभन्दै पाकिस्तानमा जस्तै संसदलाई कमजोर बनाउने खेल भइरहेको पनि बताउनु भएको थियो ।

उहाँले पछिल्लो समय व्यवसायीहरुलाई कानूनी प्रक्रिया र पर्याप्त आधारबिना पक्राउगर्ने र भोलिपल्टै छोड्ने परिपाटीले अर्थतन्त्रमा नकारात्मक असर परेको पनि बताउनुभएको थियो । सांसद सिंहले जसरी विधिको शासन मिचेर व्यापारीहरुलाई थुन्ने काम भइरहेको छ, यसले लगानीकर्तामा डर पैदागरेको छ । यही कारण नेपालको अर्बौं रुपैयाँ विदेश पलायन भइसकेको छ भन्नुभएको थियो । नेपालको राजनीतिक इतिहासमा दुई तिहाइ र बहुमतका सरकारहरु सफल नभएको उदाहरणदिँदै उहाँले वर्तमान सरकार पनि पूर्ण कार्यकाल टिक्नेमा आशंका व्यक्त गर्नुभएको थियो । सत्ताको उन्मादलेगर्दा संविधान र परम्पराको उल्लंघन भइरहेको उहाँको भनाई थियो ।

छिमेकी मुलुकहरुसँगको सम्बन्धको चर्चागर्दै सांसद सिंहले केपी ओलीको पालामाभन्दा अहिले भारत र चीनसँगको भू–राजनीतिक सन्तुलन खलबलिएको दाबी पनि गर्नुभएको थियो । उहाँले सुकुमवासी बस्ती हटाउने सरकारको कार्यशैलीको विरोधगर्दै उचित विकल्पबिना संरचना भत्काउनु गलत भएको बताउनुभएको थियो । उहाँले वर्तमान राजनीतिक अन्योल र संवैधानिक संकटका कारण आगामी स्थानीय तहको निर्वाचनसम्म यही संविधान रहला कि नरहलाभन्नेमा समेत आशंका व्यक्त गर्नुभएको थियो ।