काठमाडौं,७ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र ‘एशिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ’ (एपिजी) का प्रतिनिधिमण्डलबीच भेटभएको छ । टंगालस्थित आयोगको कार्यालयमा हिजो भएको भेटघाट तथा छलफलमा एपिजीकातर्फबाट ‘डेलिगेसन’ प्रमुख डेविड सानन र पारस्परिक मूल्यांकन संयोजक किया सासलीको सहभागिता रहेको थियो । छलफलकाक्रममा एपिजीका डेलिगेसन प्रमुख साननले नेपालले सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिष्ट’ बाट बाहिरिनका लागि आगामी दिनमा चाल्नुपर्ने कदमकाबारेमा चर्चागर्दै ‘इन्टरनेसनल कोअपरेसन रिभ्यु ग्रुप’ले परिमार्जन गरेको कार्ययोजनाको दृढताका साथ पालना हुनुपर्ने, राष्ट्रिय जोखिम मूल्यांकनको कार्य यथाशीघ्र सम्पन्न गर्नुपर्ने र बढी जोखिमपूर्ण देखिएका क्षेत्रमा सुधार केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेले एक विज्ञप्ति जारीगरी साननले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर अनुसन्धानको क्षेत्रमा आयोगले निर्वाह गरेको कार्यको सराहनागर्दै आगामी दिनमा अनुसन्धान क्षमता थप सुदृढ तुल्याउन आवश्यक प्राविधिक सहायता उपलब्ध गराउन सकिने प्रतिबद्धता व्यक्त गर्नुभएको उल्लेख गर्नुभएको छ । प्रमुख आयुक्त राईले नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर निकाल्ने सवालमा एपिजीले पु¥याउँदै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धान र अभियोजनमा आयोगले सम्पादन गरेका विभिन्न नीतिगत तथा कानूनी सुधार, अनुसन्धान र अभियोजनको परिमाणात्मक र गुणात्मक अभिवृद्धि, अनुसन्धान क्षमता विकास र अन्तरनिकाय समन्वयलगायत मुख्य सुधारका विषयमा उहाँले प्रकाश पार्नुभएको थियो । छलफलका क्रममा प्रमुख आयुक्त राईले नेपालले पूरा गर्नुपर्ने विभिन्न दायित्वमध्ये बढी जोखिममा रहेका क्षेत्रको नियमन, सुपरीवेक्षण र कानूनको प्रभावकारी परिपालना प्रमुख विषय भएकाले त्यसतर्फ सम्बद्ध पक्ष जिम्मेवार हुने धारणा व्यक्त गर्नुभएको थियो ।

त्यस्तै भ्रष्टाचार र अन्य वित्तीय अपराधसँग जोडिएका सम्पत्ति फिर्ता ल्याउन र अनुसन्धानका लागि उपयोगी तथ्यप्रमाण संकलनका लागि सम्बद्ध मुलुकसँग आपसी कानूनी सहायता सम्झौता गर्न आवश्यक रहेकोसमेत बताउनुभएको थियो । रासस