काठमाडौं, ९ जेठ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित हुनुभएको छ । हिजो सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा वैद्यले ५६ मत प्राप्तगरी विजयी हुनुभयोभने रामचन्द्र संघाईले ३० मत प्राप्त गर्नुभयो । वरिष्ठ उपाध्यक्ष पदका लागि सुरकृष्ण वैद्य, रामचन्द्र संघाइ र हेमराज ढकालले मनोनयनगर्दा गर्नुभएको थियो । तर ढकालले पछि उम्मेवारी फिर्ता लिनुभएको थियो ।
कोषाध्यक्ष पदमा विजयी मनिषलाल प्रधानले ६१ मत प्राप्तगर्दा उहाँका प्रतिस्पर्धी अम्बिकाप्रसाद पौडेलले २५ मत प्राप्त गर्नुभयो । महासंघका अध्यक्ष अन्जन श्रेष्ठले हिजै दुईजना महिलासहित छ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको छ ।
मनोनित हुनेहरुमा शिवप्रसाद घिमिरे, मनिषलाल प्रधान, नवीन रिजाल, गोकर्ण कार्की, दर्शना श्रेष्ठ र सहारा जोशी रहनुभएको छ । महासंघको विधान धारा २९ को (च) १० को व्यवस्थाअनुसार सबै सदस्य समूहको प्रतिनिधित्व हुनेगरी कम्तीमा दुईजना महिलासहित सात जना सदस्य मनोनित गर्न पाउने प्रावधान छ । विधानतः बाँकी रहेको एक सदस्य पदमाभने मनोनयगर्न बाँकी छ । रासस