काठमाडौं, ९ जेठ । आजबाट रुपन्देहीको बुटवलमा अखिल नेपाल सुकुम्वासी संघको दोस्रो राष्ट्रिय भेला र अखिल नेपाल किसान महासंघ (अप्फा) को केन्द्रीय प्रशिक्षण शुरु हुँदैछ । भोला आगामी ११ गतेसम्म हुने बताइन्छ । सुकुम्वासी संघको भेला आज जेठ ९ र भोली १० गते तथा अप्फाको केन्द्रीयस्तरको प्रशिक्षण पर्सी जेठ ११ गते राष्ट्रिय जनमोर्चाको लुम्बिनी प्रदेश कार्यालयको सभाकक्षमा हुन थालेको हो । अप्फाका अध्यक्ष भैरवराज रेग्मीकाअनुसार आज सुकुम्वासी संघको राष्ट्रिय भेलाको उद्घाटन राजमो अध्यक्ष चित्रबहादुर केसीले गर्नुहुनेछ । भेलालाई नेकपा (मसाल) निकट जनवर्गीय संगठनका प्रतिनिधिले शुभकामना दिनुहुने कार्यक्रम रहेको छ ।
दोस्रो दिन राष्ट्रिय भेलाको बन्दसत्र सञ्चालन हुनेछ । जसमा आन्तरिक सांगठनिक निर्णय लिइनुका साथै नयाँ केन्द्रीय कार्यसमिति चयन गरिनेछ । हाल सुकुम्वासी संघको अध्यक्ष तुलसि सापकोटा हुनुहुन्छ । उहाँ अप्फाको महासचिव पनि हुनुहुन्छ । अप्फा अध्यक्ष रेग्मीका अनुसार सुकुम्वासी संघ अप्फाकै आंगिक संगठन हो ।
जेठ ११ गते अप्फाको केन्द्रीयस्तरको प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ । प्रशिक्षणमा अप्फाका अध्यक्ष भैरवराज रेग्मी, राजमो नेता चित्रबहादुर केसीलगायत विभिन्न प्रशिक्षकले समसामयिक राजनीति तथा विभिन्न सैद्धान्तिक–वैचारिक विषयमा प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको राजमो निकट सूत्रहरुले बताएका छन् ।