
वाशिंटन, ११ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा युद्ध अन्त्यगर्ने सहमति नजिक पुगेको अनुमानका बीच आइतबार आफूले अमेरिकी वार्ताकारहरुलाई इरानसँग ‘हतारमा सम्झौता नगर्न’ भनेको बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्नुभएको छ–वार्ता व्यवस्थित र रचनात्मक ढङ्गले अघि बढिरहेको छ र मैले मेरा प्रतिनिधिहरुलाई कुनैपनि सम्झौता गर्न हतार नगर्न सूचित गरेको छु ।
उहाँले सम्झौता गर्न हतार नगर्न भनेपछि अगाडि लेख्नुहुन्छ–सम्झौता नभएसम्म, प्रमाणित नभएसम्म र हस्ताक्षर नभएसम्म नाकाबन्दी पूर्ण शक्तिमा र प्रभावमा रहनेछ । गत फेब्रुअरी २८ देखि शुरुभएको अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमणको जवाफमा तेहरानले आर्थिक रुपमा महत्त्वपूर्ण स्ट्रेट अफ हर्मुजहुँदै आवत–जावतगर्ने यातायात लगभग रोकेकोभन्दै अमेरिकाले अप्रिल १३ देखि इरानी बन्दरगाहहरुमा नाकाबन्दी लगाएको घोषणा गरेको छ । राष्ट्रपति ट्रम्पको टिप्पणी यस्तो समयमा आएको छ जतिवेला अमेरिका र इरानबीच नयाँ युद्धविराम सम्झौताका लागि खाका तयार भइरहेको समाचार बाहिरिएको छ ।
इरानसँग सम्झौताको तयारी भइरहँदा वाशिंगटनमा रातारात द्विदलीय विरोध बढेको बताइएको छ र धेरै वर्तमान तथा पूर्व सांसद र अधिकारीहरुले सम्झौताको कथित पक्षहरुको आलोचना गरिरहेका सूचना बाहिरिएको छ । पूर्व राष्ट्रपति बाराक ओबामाले इरानसँग सहमति गरेको सन् २०१५ को आणविक सम्झौताको आलोचनागर्दै ट्रम्पले ट्रुथ सोसलमा लेख्नुभएको छ–दुवै पक्षले आफ्नो समय लिनुपर्छ र यसलाई सही बनाउनुपर्छ । ह्वाइट हाउसले सम्झौताका पक्षहरु सार्वजनिक नगरेको भएपनि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले शनिबार सरकारी टेलिभिजनमा भन्नुभयो–दुई पक्ष १४ धाराहरु मिलेर बनेको एकप्रकारको सम्झौताको ढाँचा समझदारीपत्रको अन्तिम तयारी नजिक पुगेका छन् । रासस, एएफपी