
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले गणतन्त्रको विकल्प अझ समुन्नत र समावेशी गणतन्त्र भएको बताउनुभएको छ । आज गणतन्त्र दिवसका उपलक्षमा शुभकामना सन्देश जारीगर्दै उहाँले लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको लामो संघर्ष, हजारौं शहीदहरुको बलिदान, त्याग र समर्पणबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्नुभएको छ । उहाँले नेपालको संविधानले सुनिश्चित गरेको लोकतान्त्रिक गणतन्त्र बिभिन्न कालखण्डमा नेपाली जनताले गरेको लामो संघर्ष, हजारौं सहिदहरुको बलिदान, त्याग र समर्पणको ऐतिहासिक उपलब्धि हो । यो व्यवस्था कुनै व्यक्ति वा दलको नभएर परिवर्तनका आक्यांक्षी सम्पूर्ण नेपाली जनताको साझा उपलब्धि हो भन्नुभएको छ । उहाँले संविधानको मूलमर्मबाट पछिहट्ने वा यसका मूल्य, मान्यता र उपलब्धिमाथि सम्झौतागर्ने छुट कसैलाई नभएको उल्लेख गर्नुभएको छ । संयोजक दाहालले संविधानको कार्यान्वयनमा देखिएका कमजोरीहरुलाई सच्याउँदै, राज्य सञ्चालनको प्रक्रियामा बिद्यमान परम्परागत परिपाटी र स्वेच्छाचारिताको अन्त्यगर्नु आजको आवश्यकता हो ।
जनताको अधिकार, लोकतान्त्रिक मूल्य र समावेशितालाई अझ सुदृढ बनाउँदै अघिबढ्नुनै साँचो अर्थमा गणतन्त्रप्रतिको सम्मान हो भन्नुभएको छ । उहाँले उपेक्षित, उत्पीडित वर्ग, समुदाय र क्षेत्रका अधिकारलाई अझ मजबुत बनाउनुपर्नेमा जोडदिनुभएको छ । दाहालले राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि सबै राजनीतिक शक्ति तथा नागरिकबीच एकता आवश्यक रहेको बताउनु भएको छ । उहाँले सामाजिक न्यायसहितको समृद्धिमार्फत समाजवादी नेपाल निर्माण साझा राष्ट्रिय संकल्प भएको उल्लेख गर्नुभएको छ । उहाँले हामीबीच राजनीतिक मतभेद हुनसक्छन्, संसदीय परिपाटीमा संख्यात्मक अंकगणित फरक हुनसक्छ, तर राष्ट्रिय सरोकारका मुद्दामा संवाद र सहकार्य हाम्रो संस्कार बन्नुपर्छ ।
संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो भन्नुभएको छ । उहाँले परिवर्तनका उपलब्धिलाई कमजोर बनाउने कुनैपनि प्रयासप्रति सचेत रहन आग्रहगर्दै समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर नेपाल निर्माणमा सबै एकजुट हुनुपर्ने आह्वानसमेत गर्नुभएको छ ।