काठमाडौं,१५ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यतालाई अझ बढी परिपक्व र परिणाममुखी बनाउन दृढ संकल्पित हुन आह्वान गर्नुभएको छ । १९औँ गणतन्त्र दिवसका अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई ज्ञापनगर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामनागर्दै उहाँले गणतन्त्र दिवसको यस सुखद् अवसरमा म राज्यका सम्पूर्ण निकाय, राजनीतिक दल र आमनागरिकलाई लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यताहरुलाई अझ बढी परिपक्व र परिणाममुखी बनाउन दृढ संकल्पित हुन आह्वान गर्दछु भन्नुभएको छ ।

हाम्रो राष्ट्रिय लक्ष्य अब सुशासन, आर्थिक समृद्धि र सामाजिक न्याय हुनुपर्ने उल्लेखगर्दै पूर्वराष्ट्रपति भण्डारीले मुलुकको स्वाधीनता, राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई अक्षुच्णराख्दै आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सबै जुट्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । नेपालको राजनीतिक इतिहासमा आज जेठ १५ गते एक गौरवशाली र अविस्मरणीय दिन भएको उल्लेखगर्दै उहाँले यस गौरवमय दिनको पृष्ठभूमिमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात अमर सहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । साथै, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका बिभिन्न आन्दोलनहरुमा नेतृत्व प्रदान गर्नुहुने आदरणीय अग्रजहरुप्रति उच्च सम्मान पनि व्यक्त गर्नुभएको छ ।

उहाँले गणतन्त्रको स्थापना केवल व्यवस्था परिवर्तनमात्र होइन, यो त नेपाली जनताको जीवनस्तरमा सकारात्मक रुपान्तरण ल्याउने र राज्यका हरेक तहमा समावेशी प्रतिनिधित्व सुनिश्चितगर्ने एउटा माध्यम हो, गणतन्त्रको वास्तविक सुन्दरता र सार्थकता तबमात्र झल्किन्छ, जब समाजको किनारामा रहेका विपन्न, उत्पीडित र सीमान्तकृत नागरिकले पनि राज्य मेरो सहारा हो र म यो देशको सम्मानित नागरिक हुँभन्ने अनुभूति गर्न पाउँछन् भन्नुभएको छ । रासस