काठमाडौं,११ जेठ । नेपाली साहित्य र संस्कृतिको प्रवद्र्धनगर्ने उद्देश्यकासाथ यही जेठ १५ गतेदेखि २२ गतेसम्म ‘हिमालयन लिटरेचर फेष्टिभल एन्ड राइटर्स’ आयोजना हुनेभएको छ । ह्वाइट लोटस बुकसप र कवि युयुत्सु शर्माको पहलमा विश्वका प्रसिद्ध कवि, उपन्यासकार, संस्करण लेखक, अनुवादक, चलचित्रकर्मी, विद्धान, पत्रकारको उपस्थितिमा आठदिने ‘हिमालयन लिटरेचर फेष्टिभल एन्ड राइटर्स’ आयोजना हुनेभएको हो । कार्यक्रमको जानकारी दिन हिजो आयोजित पत्रकार सम्मेलनमा महोत्सवका संयोजक शर्माले नेपाली साहित्य र कलालाई विश्वस्तरमा चिनाउनका लागि विगत तीन वर्षदेखि यस्ता कार्यक्रम आयोजनागर्दै आइरहेको र यस वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिएको बताउनुभएको थियो । संयोजक शर्माले उक्त कार्यक्रममा पुलित्जर पुरस्कार विजेता कवि ट्रेसी के स्मिथ, पल मल्डुन, चर्चित उपन्यासकार जीन ह्यान्फ कोरेलिट्ज, कवि तथा अनुवादक टोनी बार्नस्टोन, आइरिस साहित्यिक सम्पादक मार्टिन डोयललगायत नेपाल, भारत, आयरल्यान्ड, अस्ट्रिया, पोल्यान्ड, संयुक्त राज्य अमेरिका तथा अन्य देशका साहित्यिक व्यक्तित्वको सहभागिता रहने जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा कविता, संस्करण, जादुई, यथार्थवाद, कृतिम बुद्धिमता, सृजनात्मक लेखन, महिला साहित्य, आदिवासी आख्यान, आघात र उपचार, ध्यान र सृजना, अनुवाद, प्रस्तुति कला तथा डिजिटल युगमा साहित्यको बारेमा विविध विषयका सत्रहरु सञ्चालन हुने कार्यक्रम संयोजक शर्माले बताउनुभयो । जेठ १५ देखि २० गतेसम्म हुने कार्यशालामा ठमेलस्थित मल्ल होटलका साथै काठमाडौंका विभिन्न ऐतिहासिक मन्दिर, गुम्बा र पर्यटकीयस्थलमा पनि सञ्चालन गरिने आयोजकले जनाएको छ । जसले सहभागीलाई नेपाली परिवेश र संस्कृतिसँग नजिक गराउने बताइएको छ । त्यस्तै जेठ २१ र २२ गते विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरिने कार्यक्रम निर्देशक सृजना भण्डारीले जानकारी दिनुभएको थियो । उक्त दुईदिन पुस्तक विमोचन, कविता वाचन र सांस्कृतिक कार्यक्रम समावेश गरिएको भण्डारीले बताउनुभएको थियो । कविता वाचनलाई तीन पुस्तामा विभाजन गरिएको उहाँले बताउनुभयो पुराना पुस्ताका कवि शैलेन्द्र साकार, द्वारिका श्रेष्ठ, हरि अधिकारी, नयाँ पुस्ताका कवि अभय श्रेष्ठ, ठाकुर बेलबासे र महिला कवि राधिका कल्पित, उषा शेरचनलगायतले कविता प्रस्तुत गरिने बताइएको छ ।
कार्यक्रमको अर्को मुख्य आकर्षण ‘पोयट्री फिल्म फेष्टिभल’ रहेको छ । नेपालमा पहिलोपटक आयोजना हुन लागेको उक्त विधामा कविता र दृश्यको फ्युजन देख्नपाइने निर्देशक भण्डारीले बताउनुभयो । हिमालयन लिटरेचर फेष्टिभलले न्युयोर्क राइटर्स वर्कशप, एसियन अमेरिकन राइटर्स वर्कशप र अस्ट्रिया एसियन फिलोसोफर राइटर्स वर्कशपजस्ता अन्तरराष्ट्रिय संस्थाहरुसँग सहकार्य गरेको आयोजकले जनाएको छ । महोत्सवको मुख्य उद्देश्य नेपाली साहित्यलाई अन्तराष्ट्रिय मञ्चमा पुर्याउनु र बहुभाषिक तथा बहुसांस्कृतिक आदानप्रदानलाई सुदृढ बनाउनु रहेको उहाँले बताउनुभयो । उक्त कार्यक्रमले नेपाली लेखकलाई विश्वस्तरका लेखकसँग जोड्ने र नेपाली कला, साहित्यको पहिचान विश्वभर फैलाउने विश्वास आयोजकले गरेको छ । रासस