
काठमाडौं,११ जेठ । बूढानीलकण्ठ नगरपालिकाको सहकार्यमा प्रगतिशील लेखक संघले राष्ट्रिय साहित्यिक विचारगोष्ठीको आयोजनागरेको छ । नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा जेनजी आन्दोलनसँग सम्बन्धित कविता वाचन गरेर हिजो उद्घाटित सम्मेलनमा नेपाली प्रगतिशील साहित्यको अवस्था र भावी कार्यदिशाबारे छलफल भएको थियो । संघका पूर्वअध्यक्ष मातृका पोखरेलद्वारा प्रस्तुत ‘प्रगतिशील साहित्यको वर्तमान अवस्था र भावी कार्यदिशा’ विषयक कार्यपत्रमा प्रलेसले नेपालको राजनीतिक परिवर्तनको कालखण्डमा सक्रिय सांस्कृतिक हस्तक्षेप र साहित्यलाई जनआन्दोलनसँग जोड्ने काम गरेको बताउनुभयो ।
उहाँले वैचारिक सुदृढीकरण, साहित्यिक सृजना, समीक्षा, प्रकाशन, संगठन, संघर्ष, स्रष्टा हकहित र फरक,फरक वाम समूहमा रहेर पनि प्रलेसभित्रको ऐक्यबद्धतामा जोड दिनुभयो । प्रलेसका सल्लाहकार डा विदुर चालिसेले ‘बूढानीलकण्ठ नगरपालिका ः प्रगतिशील साहित्य’ विषयक कार्यपत्र प्रस्तुतगर्दै नगरपालिकामा कविता वाचन, पुस्तक विमोचन र साहित्यिक सम्मेलनहरु नियमित हुन थालेको बताउनुभएको थियो । बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले कला, साहित्य र संस्कतिका क्षेत्रमा आफूहरुले सहकार्य बढाउने बताउनुभएको थियो । संघका अध्यक्ष डा देवी क्षेत्री दुलालले नयाँ पुस्ताको सहभागितालाई सशक्त बनाउँदै प्रगतिशील साहित्यको अनुसन्धान तथा अभिलेखकीकरण कार्यलाई व्यवस्थित गर्नुपर्ने खाँचो औँल्याउनुभएको थियो ।