
बेइजिङ, १२ जेठ । मध्यपूर्व युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास जारी रहेका बेला चिनियाँ राष्ट्रपति सी जिनपिङले हिजो सोमबार बेइजिङमा पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफसँग भेटवार्ता गर्नुभएको छ । अमेरिका–इरान तनाव, क्षेत्रीय स्थिरता र मध्यस्थता प्रयासका विषयमा अन्तर्राष्ट्रिय सक्रियता बढिरहेका समयमा भएको यो उच्चस्तरीय भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ । सरकारी समाचार संस्था सिन्ह्वाकाअनुसार राष्ट्रपति सी जिनपिङसँगको भेटअघि प्रधानमन्त्री शाहबाज सरिफले चीनका प्रधानमन्त्री ली किआङसँग पनि वार्ता गर्नुभएको थियो । बेइजिङमा भएको पछिल्लो छलफलका विषयवस्तुबारे चिनियाँ सरकारी सञ्चारमाध्यमले तत्काल विस्तृत विवरण सार्वजनिक गरेका छैनन् । पाकिस्तानी टेलिभिजनका अनुसार पाकिस्तानका सेना प्रमुख असीम मुनीरले पनि चीन भ्रमणमा प्रधानमन्त्री सरिफलाई साथ दिनुभएको छ । अमेरिका र इरानबीचको संवाद प्रक्रियामा इस्लामाबादको भूमिका बढिरहेका बेला मुनीरको सहभागितालाई विशेष महत्वकासाथ हेरिएको छ । गत महिना पाकिस्तानले अमेरिका र इरानबीच ऐतिहासिक आमनेसामने वार्ताको आयोजनागर्दै आफूलाई प्रमुख मध्यस्थकर्ताका रुपमा प्रस्तुत गरेको थियो । यद्यपि, उक्त प्रयास दीर्घकालीन सम्झौतामा रुपान्तरण हुन सकेन । यसबीच चीनले तुलनात्मक रुपमा संयमित तर सक्रिय कूटनीतिक भूमिका निर्वाहगर्दै आएको छ ।
बेइजिङले टेलिफोन संवाद तथा खाडी क्षेत्रका प्रभावित मुलुकका अधिकारीहरुसँग बैठकमार्फत क्षेत्रीय तनाव कमगर्ने प्रयास जारीराखेको छ । बेइजिङमा चिनियाँ नेतृत्वसँगको भेटका क्रममा सरिफले विश्व अहिले महत्त्वपूर्ण मोडबाट गुज्रिरहेको बताउनुभएको पाकिस्तानी सरकारी टेलिभिजन पिटिभीले जनाएको छ । उहाँले अमेरिका–इरान सम्बन्ध सुधारका लागि पाकिस्तानले गम्भीर मध्यस्थकारी भूमिका निर्वाह गरेको दाबी गर्नुभएको छ । सरिफकाअनुसार सेना प्रमुख मुनीर तेहरान भ्रमणमा सहभागी भइसकेपछि पनि चीनको यो महत्त्वपूर्ण भ्रमण छुटाउन इच्छुक हुनुहुन्नथ्यो । उहाँले कुराहरु सही दिशातर्फ अघि बढिरहेका छन् र शान्ति प्रवद्र्धनमा चीनले दिएको समर्थनप्रति म आभार व्यक्त गर्न चाहन्छु भन्नुभएको थियो । प्रधानमन्त्री सरिफले गत शनिबार पूर्वी चीनको झेजियाङ प्रान्तस्थित हाङ्झोउबाट आफ्नो चारदिने आधिकारिक चीन भ्रमण शुरु गर्नुभएको हो ।
यसअघि युद्ध अन्त्यतर्फको मध्यस्थता प्रयासकैक्रममा पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीसँगै सेना प्रमुख मुनीरले शुक्रबार र शनिबार तेहरानको भ्रमण गर्नुभएको थियो । त्यसपछि भएको चीन भ्रमणले इस्लामाबादको बहुपक्षीय कूटनीतिक सक्रियता थप स्पष्ट पारेको छ । चीनले पनि मध्यपूर्वमा शान्ति र स्थिरता पुनःस्थापनाका लागि पाकिस्तानसँग सहकार्यगर्न तयार रहेको जनाएको छ । अप्रिलमा युद्ध शुरु भएयता अमेरिका र इरानी अधिकारीहरुबीच भएको एकमात्र प्रत्यक्ष वार्ताको आयोजना पाकिस्तानले गरेको थियो ।
त्यस वार्तामा असीम मुनीर निकै सक्रिय भूमिकामा देखिनुभएको थियो । दुवै प्रतिनिधिमण्डललाई स्वागत गर्नुका साथै अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँगको सार्वजनिक मैत्रीपूर्ण व्यवहारले पनि उहाँ वार्ताको केन्द्रमा रहनुभएको थियो । तर अन्ततः ती वार्ताहरु सफल हुन सकेनन् । इरानले अमेरिकामाथि ‘अत्यधिक माग’ राखेको आरोप लगाउँदै सहमति प्रक्रियाबाट दूरी बनाएको थियो । त्यसपछि चीन र पाकिस्तानले क्षेत्रीय शान्ति प्रयासमा समन्वय बढाउने संकेत दिएका छन् । रासस, एएफपी