गाजा, १३ जेठ । गाजाका स्वास्थ्य अधिकारीहरुका अनुसार हिजो मंगलबार इजरायली हवाई आक्रमणमा कम्तीमा ७ जनाको मृत्यु भएको छ । तीमध्ये ५ जनाको ज्यान एउटा आक्रमणमै गएको बताइएको छ। यो घटना इजरायल र हमासबीच अक्टोबर १० देखि लागू भएको युद्धविरामका बीच पनि गाजामा जारी हिंसाको पछिल्लो उदाहरण हो । हमासअन्तर्गत सञ्चालन हुने नागरिक सुरक्षा एजेन्सीले जारी गरेको वक्तव्यमा पूर्वी अल–मघाजी क्षेत्रमा नागरिकहरुको समूहलाई लक्षितगर्दै गरिएको इजरायली ड्रोन आक्रमणपछि ५ जनाको शव र केही घाइतेलाई अस्पताल लगिएको भनिएको छ । अल–अक्सा शहीद अस्पताल तथा एक प्यालेस्टिनी सुरक्षा स्रोतले पनि घटनाको पुष्टि गरेका छन् ।

इजरायली सेनाले भने घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार मंगलबार बिहान केही सशस्त्र व्यक्ति अल–मघाजी शरणार्थी शिविरमा प्रवेश गरी एउटा घरमा जबर्जस्ती पसेका थिए । त्यसपछि स्थानीय बासिन्दाले ढुंगा र लाठी प्रयोग गरेर उनीहरुको विरोध गरेका थिए। सोही क्रममा इजरायली ड्रोनले आक्रमण गर्दा ५ स्थानीय बासिन्दाको मृत्यु भएको बताइएको छ । ती सशस्त्र व्यक्तिहरु त्यसपछि इजरायली नियन्त्रणमा रहेको पूर्वी सीमाक्षेत्रतर्फ भागेको स्रोतले जनाएको छ ।

उनीहरुको पहिचान खुल्न सकेको छैन। यद्यपि, हालका दिनहरुमा हमासविरोधी तथा इजरायल समर्थित भनिएका सशस्त्र समूह र स्थानीय बासिन्दाबीच यस्तै झडपका घटनाहरु दोहोरिँदै आएका छन् । रासस, एएफपी