
काठमाडौं, १३ जेठ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट लेखनको कामलाई करिब अन्तिम चरणमा पु¥याएको थाहा भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संसदका दुवै सदनमा सांसदहरुले दिनुभएको सुझाव, राष्ट्रिय स्वतन्त्र पार्टीले गत फागुन २१ को निर्वाचनमा व्यक्त गरेको वाचापत्र, सरकारको सुशासनको मार्गचित्रलगायतका विषयलाई केन्द्रमा राखेर बजेट लेखन गरिरहनुभएको बताइन्छ । यही जेठ १५ गते संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आवको बजेट प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।
नयाँ संविधान जारी भएपछि हरेक वर्ष जेठ १५ गते नै बजेट प्रस्तुत हुँदैआएको छ । पछिल्ला केही दिनदेखि अर्थमन्त्री डा वाग्लेले बिहानदेखि मध्यरातसम्म बजेट लेखनलाई अन्तिम रुप दिन लागि पर्नुभएको उहाँका स्वकीय सचिव नवीन ढुंगानाले जानकारी दिनुभयो । संघीय संसदले सांसदहरुले विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त माथिको छलफलमा क्रममा दिनुभएको सुझावलाई पनि लिपिबद्ध गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थमन्त्रालयलाई उपलब्ध गराएको छ । अर्थमन्त्री डा वाग्लेले पूर्वअर्थमन्त्री, अर्थविद्हरुसँग पनि बजेटका बारेमा छलफल गरिसक्नुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स जस्ता संस्थाको सुझाव यसअघि नै लिइसक्नुभएको छ । महासंघले तीन महले नै बनाएर आगामी आवको बजेटमा समावेश गर्नुपर्ने विषय उपलब्ध गराएको छ । महासंघले अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई बजेटका सुझाव पेशगर्दै महासंघले आगामी बजेट केवल सामान्य वार्षिक दस्तावेजमात्र नभई नेपालको आर्थिक इतिहासकै विशिष्ट मोडमा आउन लागेको भन्दै अर्थतन्त्रको वर्तमान मोडेलमा आमूल परिवर्तनगर्न सुझाव दिएको छ । अर्थमन्त्री डा वाग्लेले पनि नागरिकले अब भाषण होइन, परिणाम खोजेको उल्लेखगर्दै कानूनी सुधार, संस्थागत उत्तरदायित्व, समयसीमा, डिजिटल ट्र्याकिङ, प्रत्यक्ष अनुगमन र परिणाम मापनलाई राज्य सञ्चालनको केन्द्रमा राखिएको बताउनुभएको छ ।
उहाँले पहिलो पटक मिशन मोडका आधारमा अगाडि बढ्न खोजेको यसअघिनै स्पष्ट पार्नुभएको छ । सरकारले प्रस्तुतगर्न लागेको बजेटलाई अत्यन्तै महत्वकासाथ हेरिएको छ । सिंहदरबारस्थित नवनिर्मित संघीय संसद भवनमा अर्थमन्त्री डा वाग्लेले बजेट प्रस्तुत गर्नुहुने भएको छ ।