काठमाडौं, १३ जेठ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । यसैक्रममा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह संसदको बैठकमा उपस्थित हुने तयारी शुरु भैसकेको बताउनु भएको छभने रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले उहाँ सदनमा उपस्थित हुन एकसातासम्म लाग्नसक्ने बताउनु भएको छ । प्रतिनिधिसभाको हिजोको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्नेबित्तिकै विपक्षी दलहरुले उठेर विरोध जनाएपछि सभामुख र प्रमुख सचेतकले उपरोक्त खुलाशा गर्नुभएको थियो । हिजोको बैठकमा सभामुख अर्यालले विपक्षी बेञ्चमा रहनुभएका सांसदहरुलाई आसन ग्रहण गरेर बैठकको कार्यसूची अघिबढाउन सहयोग गर्न आग्रह गर्नुभएको थियो । उहाँले सरकार र प्रधानमन्त्रीसँग मेरो छलफल भइरहेको छ, प्रधानमन्त्री सदनमा आउने तयारीमा हुनुहुन्छ, सदनमा छलफल भएको विषयमा प्रधानमन्त्री जानकार हुनुहन्छ भन्नुभएको थियो ।
सभामुखको आग्रहको बाबजुद प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका विपक्षी दलहरुले संसदमा प्रधानमन्त्रीको उपस्थितिको मागगर्दै विरोध जारी राखेपछि पटक पटक बैठक स्थगितगर्दै चालुगर्दै गरिएको थियो । विपक्षी दलहरुले सदनमा उपस्थित भएर आफ्ना दृष्टिकोण राख्न तथा आमजनतालाई उत्साहित बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक वासना थापाले सरकारबाट प्रतिपक्षको भूमिकालाई कमजोर बनाउने प्रयास भइरहेको अरोप लगाउँदै प्रतिपक्षको आवाज सुनेर साझा राष्ट्रिय एजेन्डा स्थापितगर्न सुझाव दिनुभएको थियो ।
एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिएर सरकार सदनप्रति जवाफदेही हुनुपर्ने बताउनुभएको थियो । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले विपक्षीको अवरोधकाबीच सदनको कामकारबाही अघिबढाउनु उचित नहुने बताउनुभएको थियो । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले प्रधानमन्त्रीले सदनमा उपस्थित भएर जनताको आवाज सुनिदिन आग्रह गर्नुभएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सचेतक खुश्बु ओलीले लोकतन्त्रमा संवाद नै पहिलो शर्त भएको उल्लेखगर्दै प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर जनताको आवाज सुन्न अनुरोध गर्नुभएको थियो ।