काठमाडौं,१३ जेठ । एमालेकी सांसद टुकाभद्रा हमालले भदौ २४ गतेको घटनाबाट क्षति भएका भौतिक संरचनाहरु र देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पुनर्निर्माणका विषयमा सरकारको स्पष्ट योजना माग गर्नुभएको छ । आज बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद हमालले सो घटनाका सन्दर्भमा निष्पक्ष छानबिन प्रक्रिया अगाडि बढ्छ कि बढ्दैनभन्दै सरकारलाई प्रश्न समेत गर्नुभएको थियो । उहाँले घटना भएको लामो समय भइसक्दा पनि क्षतिग्रस्त संरचनाहरुको पुनःनिर्माणमा ठोस प्रगति नदेखिएकोमा चिन्ता व्यक्त गरिन्।
सदनलाई सम्बोधनगर्दै सांसद हमालले भदौ २४ को घटनाको सत्यतथ्य छानबिनको अवस्था र क्षतिभएका संरचनाहरु बनाउने सरकारको आगामी योजना के छभन्ने विषयमा संसदलाई तत्काल जानकारी गराउन माग गर्नुभएको थियो । विशेषगरी देशको ऐतिहासिक धरोहरका रुपमा रहेको सिंहदरबारको पुनर्निर्माणको योजनाबारे उनले सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको थियो । नेपाली नागरिकले हजारौं वा थुप्रै संख्यामा नभएर देशको गरिमा बोक्ने एउटै मात्र बलियो र व्यवस्थित सिंहदरबार चाहेको उल्लेख गर्दै उनले सो ऐतिहासिक संरचना कहिलेसम्म बनिसक्छ भनी सरकारसँग स्पष्ट जवाफ माग गर्नुभएको थियो ।