बेइजिङ, १४ जेठ । पूर्वी र दक्षिण चीन सागर क्षेत्रमा बढ्दो तनाव र स्थिरताबारे क्वाड समूहका विदेशमन्त्रीहरुले व्यक्त गरेको चिन्तापछि चीनले कडा प्रतिक्रिया जनाउँदै गुट निर्माण र द्वन्द भड्काउने गतिविधि स्वीकार्य नहुने चेतावनी दिएको छ । संयुक्त राज्य अमेरिका, भारत, जापान र अस्ट्रेलियाका विदेशमन्त्रीहरु सहभागी क्वाड बैठक मङ्गलबार नयाँदिल्लीमा सम्पन्न भएको थियो । सो बैठकपछि जारी संयुक्त वक्तव्यमा यस क्षेत्रमा देखिएका अस्थिर वा एकपक्षीय गतिविधिहरुप्रति चिन्ता व्यक्तगर्दै ती गतिविधिहरुले क्षेत्रीय स्थिरतामा जोखिम बढाइरहेको उल्लेख गरिएको थियो । साथै, मन्त्रीहरुले सैन्य विमानहरुद्वारा हुने जोखिमपूर्ण चालचलन र दक्षिण चीन सागरमा अवरोध तथा आक्रमणका घटनाप्रति आलोचना गरेका थिए । चीनले क्वाडको सो अभिव्यक्तिलाई अस्वीकारगर्दै आफ्नो समुद्री क्षेत्रमा कुनै पनि बाह्य हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारेको छ ।
चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले पत्रकार सम्मेलनमा पूर्वी चीन सागर र दक्षिण चीन सागरको अवस्था समग्र रुपमा स्थिर रहेको दाबी गर्नुभयो । उहाँले सम्बन्धित देशहरुलाई चीनसँग जोडिएका समुद्री मामिलामा हस्तक्षेप नगर्न र क्षेत्रीय शान्ति तथा स्थिरता कायम राख्ने प्रयासलाई सम्मानगर्न आग्रह गर्नुभयो । उहाँकाअनुसार गुट निर्माणगर्ने, तनाव बढाउने र द्वन्द भड्काउने गतिविधि अन्तर्राष्ट्रिय रुपमा अलोकप्रिय छन् । क्वाड समूहलाई चीनले लामो समयदेखि शंकास्पद दृष्टिले हेर्दैआएको छ, किनभने बेइजिङले रणनीतिक रुपमा महत्त्वपूर्ण पूर्वी र दक्षिण चीन सागरका केही भूभागमा आफ्नो दाबीगर्दै आएको छ ।
यता फिलिपिन्स, जापान लगायतका देशहरुसँग ती जलक्षेत्रलाई लिएर निरन्तर विवाद जारी छ, जहाँ विश्वकै महत्त्वपूर्ण समुद्री व्यापार मार्गहरु पनि अवस्थित छन् । विश्लेषकहरुका अनुसार क्वाड र चीनबीचको यो कूटनीतिक शब्दयुद्धले क्षेत्रीय सुरक्षा संरचना र समुद्री अधिकारसम्बन्धी विवादलाई थप जटिल बनाउने संकेत देखिएको छ । रासस, एएफपी