काठमाडौं,१४ जेठ । वैदेशिक रोजगारसँग सम्बन्धित ऐन संशोधनगर्न माग भएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिले वैदेशिक रोजगार सम्बद्ध पुराना र अव्यवहारिक ऐन संशोधनगर्न आग्रह गरेको हो । हिजो काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा समितिका अध्यक्ष हरिबहादुर पाण्डेले वैदेशिक रोजगारसम्बन्धी समस्या समाधानमा जोडदिँदै यसलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन आफूहरु सरकारसँग सहकार्य गरेर जान तयार रहेको बताउनुभएको थियो । अर्को प्रशंगमा उहाँले सरकारले तोकेका १० हजारको सेवा शुल्क निकै कम भएको बताउँदै यसलाई बढाउन आग्रह गर्नुभयो ।

उहाँले सेवा शुल्क कमहुँदा उच्च तहका र धेरै रकम पाउने कम्पनीमा कामदार पठाउन सकिएको छैन । यसलाई समयानुकूल परिमार्जन गर्नुपर्छ भन्नुभएको थियो । उहाँले कामदारको मागपत्र प्रमाणीकरण, अन्तिम श्रम स्वीकृति, धरौटी रकम, रोजगार दायरा विस्तार, नीति निर्माणलगायत क्षेत्रमा रहेका कमजोरीलाई सच्याएर जानुपर्नेमा सुझाव दिनुभएको थियो । मेनपावर कार्यालयमामा वैदेशिक रोजगार विभागमार्फत अनुगमन हुनुपर्नेमा जोडदिँदै उहाँले अहिले बिभिन्न नाममा आफूहरुलाई दुःख दिन खोजिएको गुनासो गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगारमा नीतिगत सुधारको आबश्यकता औँल्याउँदै स्थिर सरकार बनेको अहिलेको बेला सबैभन्दा उपयुक्त समय रहेको टिप्पणी गर्नुभएको थियो ।