काठमाडौं,१४ जेठ । भारतसँग सीमा जोडिएका झापाका बिभिन्न नाकामा रोहिंग्या शरणार्थीसहित विदेशी नागरिकको अनधिकृत प्रवेश रोक्न सुरक्षा सतर्कता उच्च पारिएको थाहाभएको छ । गृहमन्त्रालयको निर्देशनानुसार विदेशी नागरिकको अवैध प्रवेश नियन्त्रणगर्न सुरक्षा संयन्त्र सक्रियरुपमा परिचालन गरिएको झापाका सहायक प्रजिअ तेजप्रकाश प्रसाईंले जानकारी दिनुभएको छ । काँकडभिट्टा, भद्रपुर, गौरीगञ्ज, टाघनडुब्बा, केचना र बाहुनडाँगीजस्ता संवेदनशील सीमावर्ती क्षेत्रमा अनधिकृत घुसपैठ हुनसक्ने सूचना प्राप्त भएपछि सुरक्षा व्यवस्था कडा पारिएको उहाँको भनाई छ । छिमेकी मुलुक भारतका पश्चिम बंगाललगायत बिभिन्न प्रान्तमा अनधिकृत बसोबासगर्दै आएका आप्रवासीलाई स्वदेश फर्काउने अभियान शुरु हुनसक्ने चर्चासँगै उनीहरु नेपालतर्फ प्रवेश गर्नसक्ने आँकलन गरिएको छ ।

यसैक्रममा सशस्त्र प्रहरी बलको २ नं गणले पूर्वी नाका काँकडभिट्टामा स्थानीय बासिन्दालाई सचेत गराउँदै कुनै पनि विदेशी नागरिकको शंकास्पद गतिविधि देखिए तत्काल जानकारी गराउन माइकिङमार्फत आग्रह गरेको छ । म्यान्माबाट विस्थापितभई बङ्गलादेश पुगेका रोहिंग्या समुदायका व्यक्ति सुरक्षित आश्रयको खोजीमा बिभिन्न देशमा फैलिरहेका छन् । उनीहरु बंगलादेशहुँदै भारतीय सीमावर्ती क्षेत्रमा पुगेको र त्यहाँबाट लुकिछिपी नेपाल प्रवेश गर्नसक्ने सम्भावनालाई दृष्टिगतगरी झापा प्रशासनले सुरक्षा रणनीतिलाई थप सुदृढ बनाएको हो ।